शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी

११ असार २०७८, शुक्रबार १४:१५

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुले नेप्सेमा सूचिकृत कम्पनीहरुको शेयर, सरकारी ऋणपत्र, सामूहिक लगानी कोषमा लगानी गरेका हुन्।

जीवन बीमा कम्पनीहरुले कुल लगानी तीन खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ माथि छ भने निर्जिवन बीमा कम्पनीहरुले कुल लगानी ६४ अर्ब ३ करोड ८६ लाख रुपैयाँ माथि बैंक तथा वित्तीय क्षेत्रको मुद्दती निक्षेप र विविध क्षेत्रमा लगानी गरेका छन ।

बीमा समितिले जारी गरेको बीमकको लगानी निर्देशिका–२०७५ मा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधरण शेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा निर्धारण गरेको छ । बीमा कम्पनीहरुले बीमा समितिले निधारण गरेको दायराभित्रै रहेर बैंकको मुद्दति निक्षेप बाहक नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक तथा अन्य कोषमा लगानी गर्दै आइरहेका छन् । जसमा शेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न नपाइने व्यवस्था छ । पुँजि बजार ठूलो आकारमा प्रभावित भएका बीमा कम्पनीहरुका लगानी समेत प्रभावित हुने देखिएको छ।

जीवन बीमा कम्पनीको ५४ अर्ब ८४ करोड रुपैयाँ धितोपत्र बजारमा लगानी

जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिका शेयर र ऋणपत्र, सूचीकृत कमपनीको सुरक्षित डिभेञ्चर, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ५४ अर्ब ८४ करोड रुपैयाँ माथि लगानी गरेका छन्।

रु (०००)

जीवन बीमा कम्पनीहरुले सूचिकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा १४ अर्ब २० करोड ७४ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र १७ अर्ब ३१ करोड ८९ लाख, सूचिकृत पब्लिक सुरक्षित डिबेन्चरमा २० अर्ब ५३ करोड ८५ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा दुई अर्ब ४ करोड ५३ लाख रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ७५ करोड १५ लाख रुपैयाँ गरी सो बराबरको रकम लगानी गरेका छन् ।

जीवन बीमा अन्तर्गत एलआईसी नेपालले सबैभन्दा धेरै नौ अर्ब २४ करोड ९१ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । एलआईसीले सूचीकृत कम्पनीको साधारण शेयरमा तीन अर्ब ३८ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा पाँच अर्ब ७८ करोड र म्युचुअल फण्ड र नागरिक लगानी आठ करोड रुपैयाँ लगानी गरेको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले पनि आठ अर्ब १७ करोड रुपैयाँ बराबरको रकम शेयर बजारमा लगानी गरेको छ । नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले पनि शेयर बजारमा ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम लगानी गरेको छ ।

त्यस्तै, महालक्ष्मी लाइफले तेस्रो त्रैमासको अवधिसम्ममा सूचीकृत कम्पनीको साधारण शेयरमा ८४ लाख, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २० करोड २० लाख, म्युचअल फण्ड र नागरिक लगानीकोषमा गरी २१ करोड ५४ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीको धितोपत्र बजारमा सबैभन्दा बढी लगानी

निर्जिवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिका शेयर र ऋणपत्र, सूचीकृत कम्पनीको सुरक्षित डिभेञ्चर, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा नौ अर्ब ८८ करोड २८ लाख ६९ हजार रुपैयाँ लगानी गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनीले मात्रै करिब एक अर्ब ३ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

रु (०००)

निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको छ । कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ८५ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १५ करोड रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा २ करोड ९९ लाख रुपैयाँ गरी एक अर्ब ३ करोड ९४ लाख रुपैयाँ लगानी गरेको हो ।

त्यस्तै, शिखर इन्स्योरेन्सले पनि ९३ करोड १२ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम लगानी गरेको छ । कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १२ लाख र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ७५ लाख रुपैयाँ गरी ८७ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*