मौसम सूचकाङ्कमा आधारित बाली बीमाको महत्व बढ्दै

१२ असार २०७८, शनिबार १०:१६

काठमाडौं । मौसममा आधारित बाली बीमा भन्नाले वैज्ञानिक रुपमा कुनै खास क्षेत्रका लागि निर्धारण गरिएको निश्चित समयअवधीभित्रको मौसमी अवस्था हो । सो अवस्थाभित्रमा निर्धाण गरिएको मौषस बाली नाली, फलफूलले नपाउँदा उत्पादन कम हुन गई किसानलाई घाटा पर्न जान्छ ।

नेपालमा हाल प्रचलनमा रहेको बाली बीमाले बाली लगाउँदा देखि काट्दासम्मको लागत मुल्यको मात्र बीमा हुन्छ । यो बीमा थुपै्र जोखिमहरु समावेश हुन्छ । जस्तैः आगलागी, चट्याङ, दुर्घटना, भुकम्प, बाढी, डुबान, खडेरी, पहिरो, आधिँबेरी, असिना, हिउँ, तुषारो, किरा तथा रोगबाट हुने क्षति आदि । बालीलाई क्षति गर्ने प्राय सम्पूर्ण जोखिमहरु समावेश भएपनि बीमा अन्तर्गत क्षतिपूर्ति भने लागत मूल यमा मात्र हुने हुँदा कृषकहरुले उत्पादन अनुसार बास्तबिक क्षतिपूर्ति पाँउदैनन् ।

यसै कारणले गर्दा कतिपय कृषकहरुको हाल प्रचलित बाली बीमामा रुची देखिदैन । यसै कारणले बालीको उत्पादनको क्षतिपूर्ति दिने मौसम सूचांकमा आधारित बाली बीमा आजको आवश्यकता बन्न गएको छ । नेपालमा कृषकहरुको चाहना मुख्यत सुख्खा र खडेरीको जोखिम बिरुद्ध बीमा गर्ने देखिएको छ ।

पहाडी क्षेत्रको साथै तराईका कृषकहरुको लागि पनि सुख्खा र खडेरीलाई नै मुख्य जोखिमको रुपमा रहेको छ । मौसम र सूंचाक बीमा पनि मौसममा आधारित जोखिममा सीमित हुने हुनाले, नेपालमा यस बीमाको बिस्तार पनि सुख्खा र खडेरी जोखिमको लागी नै बढी हुनुपर्ने देखिएको छ ।

यसमा बीमा गर्नुपर्ने बाली लगाइएको स्थानको नजिक मौसम मापन केन्द्र हुनुपर्छ । पहाडी क्षेत्रमा पहाडको एकापट्टी र अर्कापट्टी हुने बर्षातमा फरक पर्ने हुनाले मौसम मापन केन्द्र रहेको स्थानको लागी पनि महत्वपूर्ण भूमिका रहन्छ ।

मौसम सूचकाङ्कमा आधारित बाली बीमामा बालीको उत्पादनको मुल्यको बीमा हुन्छ । यसमा मौसममा आधारित जोखिमहरुलाई मात्र समावेश गरिन्छ, जस्तै ः खडेरी, अत्याधिक वर्षा, तुषारो आदि ।

यसमा कुनै खास बालीलाई त्यसको लागि चाहिने मौेसमी अवस्थाहरु एक निश्चित सीमाभन्दा बढी वा घटी भएमा दावी दिने गरिन्छ । बीमा दावीको मापदण्ड तयार गर्न सो स्थानको निश्चित समय अवधिको मौसमी तथ्याङ्क भएमा मात्र यस प्रकारको बीमा प्रभावकारी हुन सम्भव हुन्छ ।

यस प्रकारको बीमा दावी गरेको अवस्था मौसममापन केन्द्रको तथ्याङ्कको आधारमा निर्धारण हुने हुँदा कृषकहरुले बीमा दावी गरिरहनु पर्दैैन । बीमा गरिएको मौसमी अवस्था एक निश्चित सीमा भन्दा फरक परेमा बीमा कम्पनीले नै कृषकहरुलाई दावी परेको सूचना दिनुपर्छ अथवा कृषकहरुले नै मौसम मापन केन्द्रमा सम्पर्क राखी दावी परे र नपरेको थाहा पाउन सक्छन् ।

दावी गरेमा कति दावी प्राप्त गर्ने तत्काल थाहा हुन्छ । यस बीमा अन्तर्गत दावी पर्दा बाली लगाएको स्थानमा गएर क्षतिको मुल्याङ्कन गर्नु नपर्ने यस बीमाको मुख्य बिशेषता हो । खेतबारीमा लगाएको अन्न तथा फलफूल फल्यो वा फलेन भन्दा पनि त्यसको लागि निर्धारण गरिएको मौषम फरक पर्यो कि परेन भन्ने कुरामा निर्भर हुने हुँदा यो बैज्ञानिक विधि पनि हो । साथै किसान र बीमक कम्पनी दुवैका लागि हितकर समेत हुन्छ । मौषम राम्रो नभए बाली राम्रो फल्दैन । जति प्रतिशत मौषम खराव हुन्छ, त्यही आधारमा दावी भुक्तानी दिइन्छ ।

मौसम सूचकाङ्कमा आधारित बीमाको सुरुवात
नेपालमा पहिलो पटक जुम्लामा आ.व. २०७२।७३ देखि जुम्ला उपत्यकाको स्याउ खेतीमा मौसम सूचाङ्कमा आधारित बीमा गरेर सुरुवात गरिएको हो । शिखर इन्स्योरेन्सले पहिलो पटक नेपालमा मौसम सूचांकमा आधारित बीमा गरेको थियो ।

यसमा खडेरी जोखिमको लागि स्याउको उत्पादनको मूल्यमा बीमा गरिएको छ । जुम्ला उपत्यकामा खडेरीको लागि बीमा दावीको मापदण्ड तयार गर्न जुम्लास्थित मौसम मापन केन्द्रबाट बिगत २० वर्ष भन्दा बढीको बर्षातको तथ्याङ्क अध्ययन गरिएको थियो ।

जस अनुसार स्याउको उत्पादनको लागि सबैभन्दा सबैभन्दा महत्वपूर्ण २ महिना अप्रिल र मे ९ मध्ये चैत देखि मध्य जेष्ठ जसमा स्याउको फुल फुल्ने र चिचिला लाग्ने समयमा बर्षात ६० मिलि मिटर वा सो भन्दा कम भएमा बीमा गरेका कृषकलाई क्षतिपूर्ति दिइने ब्यवस्था छ ।
बिगत ३० बर्षमा जुम्लामा ६ पटक उक्त २ महिनामा ६० मिमि भन्दा कम बर्षात भएको थियो र बर्षात कम भएको बर्ष स्याउको उत्पादनमा पनि कमी भएको थियो ।

यसमा २ महिनाको बर्षात ६० मिमि वा सो भन्दा कम बीमा गरेका कृषक स्वतः दावी योग्य हुने हुनाले भएमा कृषकले दावी गर्नु गर्दैन । साथै दावी भुक्तानीको मापदण्ड २ महिनामा भएको बर्षतमा आधारित हुने हुनाले खेतबारीमा गएको क्षतिको मूल्याङ्कन गर्नुपदैन ।

बिना झन्झट र सजिलैसँग दावी भुक्तानी पाइने हुँदा अहिले सो क्षोत्रामा मौसममा आधारित बाली बीमा लोकप्रिय हुँदै गएको छ । उदाहरणको लागि यदि २ महिनाको जम्मा बर्षात ५० मिमि भएमा बीमा गरिएको स्याउकोे मूल्यको १८ देखि ३३ प्रतिशत, ४० मिमि भएमा ३५ प्रतिशत दावी भुक्तानी हुने व्यवस्था गरिएको छ ।

जम्मा बर्षात जति कम हुन्छ दावी उति बढदै जान्छ । बर्षात १ मिमि मात्र भएमा बीमा गरिएको जम्मा र कम अर्थात १०० प्रतिशत नै दावी भुक्तानी हुन्छ ।

मौसम सूचांकमा आधारित बीमाको महत्व
-मौसम सूचाकाङ्क बीमामा दावी गर्दा कृषकहरुलाई तत्काल क्षतिपूर्ति प्राप्त हुन्छ ।
-यसमा क्षति भएमा कृषक बीमा कम्पनीमा दावी गर्नुपर्ने र बीमा कम्पनीले बाली लगाएको स्थानमा गएर क्षतिको मूल्याङ्कन गर्नुपर्दैन ।
-अहिले संसारभर तापक्रम बढी रहेको र यसले गर्दा अतिबृष्टि, अनाबृष्टि, खडेरी जस्ता जोखिमबाट बालीमा क्षति हुने संम्भावना बढी रहेको परिप्रेक्षमा यस बीमाको महत्व झन बढिरहेको छ ।
-यस बीमालाई बिस्तार गर्दै कृषकहरुलाई बाली मौसमको कारणले हुने क्षतिबाट पर्ने आर्थिक संकटबाट तत्काल राहत प्रदान गर्न यस प्रकारको बीमा प्रभावकारी हुँदै गएको छ ।
-मौसममा आधारित बीमा बैज्ञानिक अनुसन्धानमा आधारित भएकोले कुनै पनि पक्षले शंका गर्नुपर्दैन । तोकिएको मौसम अवस्था नभएमा दावी भुक्तानी पाउने हुँदा नक्कली बीमा दावी पर्न सक्दैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*