हिमालयन रिलाई पुनर्बीमा लाइसेन्समा एक अर्ब भ्रष्टाचार ! बीमा समितिका अध्यक्ष सिलवाल विवादमा मुछिए

१३ असार २०७८, आईतवार १०:२९

काठमाडौं । बीमा समितिबाट हिमालयन रि नामक कम्पनीले पुनर्बीमा कम्पनीको कारोबार अनुमति नपाउँदै एक अर्ब भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ ।

आज प्रकाशिक नागरिक दैनिकका अनुसार कूल एक अर्ब डिलमा बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा लाइसेन्स दिन लागेको दावी गरिएको छ । पत्रकार दिलिप पौडेलले लेखेको समाचारमा हिमालयन रि इन्स्योरेन्सका सञ्चालकलाई उध्रित गर्दै प्रतिकित्ता १० रुपैयाँका दरले घुस दिइएको दावी गरिएको छ । हिमालयन रिका मुख्य सञ्चालक सुलभ अग्रवालले प्रतिकित्ता ४५ रुपैयाँसम्म घुस रकम उठाएको बजार चर्चा चलेको बेला यस्तो समाचार बाहिर आएको हो ।

समाचार अनुसार बीमा समितिका अध्यक्ष सिलवालको संलग्नतामा अर्थमन्त्रालयका उच्च नेतृत्व तथा प्रधानमन्त्री निकट दिपक भट्टको मुख्य योजनामा हिमालयन रि नामक पुनर्बीमा कम्पनी अर्ब रुपैयाँ लेनदेनमा दर्ता गर्ने कार्य भइरहेको छ । हाल सात अर्ब चुक्ता पुँजि जम्मा गर्ने कार्य भइरहेको सो कम्पनीमा कान्तिपुरका सञ्चालक कैलाश सिरोहियाको समेत शेयर रहेको छ । सिरोहियालाई मिडिया साइलेन्स बनाए बापत गोल्डेन शेयर दिएको बुझिएको छ ।

समाचारमा सिलवालले आफूले पारदर्शी रुपमा सूचनामार्फत कम्पनी छनौट गरी लाइसेन्स दिन लागेको दावी गरेका छन् । उनले धेरै अंक पाउने कम्पनी छनौट भएको र लाइसेन्स नपाउने कम्पनीका सञ्चालकले झुठो आरोप लगाएको दावी गरेका छन् ।

त्यसो त, हिमालयन रि नामक कम्पनीलाई लाइसेन्स दिने काण्डमा भएको भ्रष्टाचारबाट बीमा समितिले उन्मुक्ति पाउने कुनै सम्भावना छैन । गत चैत्रमा बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई एक अर्ब रुपैयाँ लिएर लाइसेन्स दिन लागेको भन्ने समाचार आर्थिक दैनिकले प्रकाशित गरेको थियो । उतिबेला आर्थिक दैनिकले अध्यक्ष सूर्य प्रसाद सिलवालले करोडौं रुपैयाँ लिएर शेयर माफियासँगको सेटिङमा नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको दावी गरेको थियो । समाचारको दावी अनुसार नै अध्यक्ष सिलवालले कोरोना महामारीमा सरकारले घोषणा गरेको निषेधाज्ञामा बीमा समितिले सूचनामार्फत नयाँ कम्पनी दर्ता गर्न आह्वान गरी निषेधाज्ञाभित्रै हिमालयन रि लाई छनौट गरेको थियो ।

बीमा समितिमा एक अर्ब भ्रष्टाचार भएको तथ्य उजागर भएसँगै हिमालयन रि नामक कम्पनीलाई लाइसेन्स कागजातमा हस्ताक्षर गर्ने बीमा समितिका कर्मचारीहरुको पनि जागिर धरापमा परेको छ । उक्त काण्डको स्वतन्त्र छानविन भएको अवस्थामा अर्बौ रुपैयाँ रकम लेनदेनमा भरियाको रुपमा फाइलमा हस्ताक्षर गर्नेहरु बीमा समितिका कर्मचारीहरु पनि कठघरामा उभिने भएका छन् । बीमापोष्टले यसअघि नै बीमा समितिका अध्यक्ष सिलवाल भ्रष्ट मानसिकतासहित गलत नियतका साथ बीमा क्षेत्रमा हुडलो मच्चाउन उद्यत रहेको समाचार प्रकाशित गरेको थियो ।

 

One thought on “हिमालयन रिलाई पुनर्बीमा लाइसेन्समा एक अर्ब भ्रष्टाचार ! बीमा समितिका अध्यक्ष सिलवाल विवादमा मुछिए

  1. कमल says:

    पैसा खाएर लाइसेन्स दिने भए, सबै पाँचवटा कम्पनी ले नै पाउनु पर्ने । कमाइ पनि धेरै हुने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*