‘कोभिडले कलेज बन्द भो, बीमा कम्पनीमा जम्मा गरेको रकम फिर्ता पाइएन’

४ श्रावण २०७८, सोमबार १२:५८

काठमाडौं । सोमबार विहान १० बजे नै दुधौली–७ सिन्धुलीका तीर्थ प्रसाद पोखरेल बीमा समितिमा उजुरी बोकेर पुगे । कोरोना अघिसम्म राम्रै चलिरहेको क्यास्पियन भ्याली कलेज अहिले कोभिडका कारण लगभग बन्द छ । कलेजमा ठूलो लगानी गरेका उनले आम्दानी राम्रै थियो र नेपाल लाइफ इन्स्योरेन्समा ५० लाख रुपैयाँको बीमा गरेका थिए ।

अहिले समय बदलियो, कोरोनाको कारण कलेज चल्न छोड्यो, आम्दानी पनि घट्यो । अब उनलाई बीमाको प्रिमियम भुक्तानी गर्न नै समस्या पर्न थाल्यो । उनले उक्त बीमा कम्पनीमा बचत गरेको रकम बीमा पोलिसी समर्पण गरेर बाँकी रहेको कम फिर्ता लिन मन लाग्यो । तर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरेललाई रकम फिर्ता दिएन, बरु बीमा समितिको निर्देशन पढेर सुनाउन थाल्यो । रकम फिर्ता दिनुको साटो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितितर्फ देखाउन थालेपछि पोखरेल आज बिहानै बीमा समिति पुगेका हुन् । उजुरी बोकेर बीमा समिति पुगेका उनले २०७५ साल कार्तिक ७ गते जीवन बीमा पोलिसी लिएका थिए । सो पोलिसी लिएको दुई वर्ष नौ महिना बितिसकेको छ । हालसम्म उनले १३ लाख १७ हजार ४१७ रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बुझाइसकेका छन् ।

तर, बीमा समितिबाट पनि उनले न्याय पाउने सम्भावना कम छ । किनभने बीमा समिति आफै अन्योलमा छ । करार कानुन बमोजिमको बीमा पोलिसी बीमितले करार बमोजिम सरेण्डर गर्न पाउनु पर्छ कि पर्दैन भन्ने बारेमा मौन रहँदै आएको छ । नयाँ नियम लागू भएपछि नयाँ जारी हुने पोलिसी नयाँ नियम अनुसार र पुराना तथा जारी भइसकेका बीमा पोलिसी पुरानै मितिमा प्रचलनमा रहेको कानुन लागू हुने सामान्य कानुनको सिद्धान्त विपरित जीवन बीमालेख सम्बन्धी निर्देशिकाको उल्लंघन हुँदा पनि बीमा समिति मौन रहदै आएको छ ।

बीमा समितिको निर्देशनसँगै नेपाल लाईफ नेशनल लाइफ र एलआईसी नेपाल सहितका जीवन बीमा कम्पनीहरुले करार कानुन उल्लंघन हुने गरी असार २३ गतेभन्दा पहिले जारी भएका बीमा पोलिसी समेत सरेण्डर गर्न नपाउने भन्दै लिखित परिपत्र गरेर सरेण्डर तथा ऋण प्रवाह रोकिसकेका छन् ।

बीमा समितिले २०७८ असार २३ गते जारी गरेको निर्देशिका अनुसार बीमा पोलिसी सरेण्डर गर्न र ऋण लिनको लागि आवश्यक समर्पण मूल्य प्राप्त गर्न तीन वर्ष कुर्नुपर्ने भएको छ । नयाँ व्यवस्था नयाँ निर्देशिका आउनु पूर्वका बीमा पोलिसीहरुमा समेत लागू गरेपछि बीमितहरु मारमा परेका छन् । नयाँ व्यवस्था समयानुकूल सही भएपनि पुरानो करारलाई समेत नयाँ कानुनमा बाँध्न खोज्ने बीमा समितिको गलत नियतले बीमित र बीमा कम्पनीका बीचमा ठूलो विवाद उत्पन्न हुने देखिएको छ । यसले करारकै आधारमा चल्ने बीमा व्यवसायको हुर्मत लिने गरी करार उल्लंघनमा बीमा समितिकै संलग्नता देखिनु अर्को आश्चर्यको विषय बन्न पुगेको छ ।

बीमा समितिमा उजुरी दिएपछि पीडित पोखरेलले बीमापोष्टसँग भने, ‘बीमा करार होइन भन्ने हो भने मेरो भन्नु केही छैन । यदि बीमा करारकै आधारमा चल्ने क्षेत्र र व्यवसाय हो भने नेपाल लाइफ र मबीचमा भएको करार बमोजिमको मलाई फिर्ता दिलाउनुपर्छ ।’ उनले आफ्नो बीमा पोलिसी नं १६२००००३३ नम्बरको पोलिसीमा भएको करार कार्यान्वयन नगरेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बेईमानी गरेको दावी गर्दै बीमा कम्पनीले गरेको गलत निर्णयहरु बीमा समितिले सच्याउनुपर्ने बताए ।

उनले दुखेसो गर्दै भने, ‘कोरोना महामारी फैलियो, कलेज बन्द भयो, महामारीमा बल्लतल्ल बाँचे, आफूले बचत गरेको रकम झिक्न जाँदा बीमा समिति देखाएर दुःख दिइयो ।’ उनले आफूसँग खर्चको अभावमा परेकोले बीमा पोलिसी सरेण्डर गर्न खोज्दा समेत नदिनुले नेपाली जीवन बीमा कम्पनीहरुको गम्भिर लापरवाही र त्यस्तो लापरवाहीमा बीमा समिति रमिते बनेको समेत आरोप लगाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*