जिडिपीमा बीमाको योगदान ३.५८ प्रतिशत, बीमाको पहुँच २७ प्रतिशत नजिकै

६ श्रावण २०७८, बुधबार १५:५२

काठमाडौं । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३ दशमलव ५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक २४.७६ प्रतिशत रहेको छ ।

आर्थिक बर्ष २०७७।७८ को अन्त्यसम्ममा बीमा क्षेत्रमा कूल १० हजार ७५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै, बीमा सर्भेयर करिब ४ सय जना र सक्रिय बीमा अभिकर्ता करिब साढे २ लाख रहेका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा कूल एक खर्व २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले भने गत आर्थिक बर्ष ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

जीवन बीमा र निर्जीवन बीमा गरी कूल एक खर्ब ५१ अर्व ४५ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्कले देखाएको छ ।अघिल्लो आर्थिक वर्ष को तुलनामा गत आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमातर्फको कूल बीमा शुल्कमा २८ दशमलव ७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५ दशमलव ३५ प्रतिशतले बृद्धि भएको छ ।
गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार ९ सय ६४ वटा बीमालेखको २ अर्ब २५ करोड २ लाख रुपैयाँ बीमा दावी भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ ।

निर्जीवन बीमातर्फ भने ८६ हजार ४ सय ४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा दाबीको भुक्तानी दिन बाँकी रहेको बीमा समितिले निरिक्षणमा गरिएको तथ्याङ्कले देखाएको छ ।
नेपालमा हाल ४१ वटा कम्पनीले बीमा व्यवसाय गरिरहेको बीमा समितिको तथ्याङ्क छ । । जसमा १९ वटा जीवन, २० वटा निर्जीवन र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । सो मध्ये हिमालयन रि नामक कम्पनीलाई बीमा समितिले यसै वर्ष अनुमति दिएको हो । जसमध्ये जीवन बीमा कम्पनीको चुक्ता पुँजी कूल ३८ अर्ब २१ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*