सञ्चालक समितिविरुद्धमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारीलाई प्रवेश निषेध

७ श्रावण २०७८, बिहीबार १२:५७

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले सञ्चालक समितिका विरुद्धमा आन्दोलित भएका छन् । सो कम्पनीको आधिकारिक राष्ट्रिय बीमा कर्मचारी संघको अध्यक्ष मोहन तिमल्सिना र महासचिव देवराज घिमिरेले यही साउन ३ गते बक्तव्य निकाल्दै ७ दिने अल्टिमेटम सहित प्रमुख कार्यकारी अधिकृतलाई प्रवेश निषेध गरेका छन् ।

असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर्मचारीको हितका विरुद्धमा निर्णयहरु गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । कोभिड संक्रमित कर्मचारीहरुलाई सुविधा नदिइ विभेद गरिएको तथा कर्मचारी नियमावली २०७४ विपरित हुने गरी भत्ता सुविधा कटौति गरिएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सञ्चालक समितिका विरुद्धमा आन्दोलनमा उत्रिएको घोषणा गरेका कर्मचारी संघले कम्पनीको प्रमुख कार्यकारी अधिकृत डिल्ली राज अर्याललाई कार्यालयमा प्रवेश निषेध गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रमुख कार्यकारी अधिकृतको ढोकामा सुचना टाँसेर प्रवेश निषेधको घोषणा गरेका हुन् । कर्मचारी संघले कार्यालयमा प्रवेश निषेधको घोषणा गरेपनि प्रमुख कार्यकारी अधिकृत अर्याल भने पोष्ट कोभिडको उपचारमा घरैमा आराम गरिरहेका छन् ।

सञ्चालक समितिले गरेको अन्याय र विभेदका विरुद्धमा संघर्षको घोषणा गरेका उनीहरुको मागमा मुख्य रुपमा कोरोना संक्रमित कर्मचारीहरुलाई सुविधा नदिइएको आरोप छ । रोचक कुरा के छ भने कोरोना संक्रमित कर्मचारीलाई समान सुविधा माग गरेका कर्मचारी संघले सञ्चालक समितिका विरुद्धको आन्दोलनमा कोरोना संक्रमित भई घरमा बसेका प्रमुख कार्यकारी अधिकृतलाई प्रवेश निषेधको घोषणा गरेका छन् ।

कर्मचारीहरुले कार्यालयमा प्रवेश निषेध गरेपछि अर्याल तीन दिनदेखि कार्यालयमा उपस्थित भएका छैनन् । कर्मचारीहरुले ७ दिनभित्र कम्पनीको प्रमुख कार्यकारी नियुक्त गर्न सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने माग मुख्य रुपमा अघि सारेका छन् । कम्पनीमा हाल अर्थ मन्त्रालयका सह–सचिव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको बक्तव्य जस्ताको तस्तैः
सवैलाई सर्वविदितै भएको कुरा हो, यस राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको कर्मचारी हक हितका विभिन्न विषयहरु एवम् कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०७४ को कार्यान्वयन सन्दर्भमा विभिन्न मागहरु उठाएकोमा सो को सुनुवाई नभएपछि कालोपट्टी बाँध्ने र धर्ना कार्यक्रम गरेको र उक्त आन्दोलनको परिणाम स्वरुप कर्मचारी संघ तथा कम्पनीका बीचमा विभिन्न समयमा सम्झौता कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०७४ कार्यान्वयन गर्ने सहमति २०७६ माघमा भएको थियो । तर अहिले आएर उक्त सहमति भन्दा विपरित गई कर्मचारीलाई मर्का पर्ने गरी सञ्चालक समितिले निर्णय गरेको र कोरोना संक्रमित कर्मचारीप्रति गैर जिम्मेवारी देखाएको, जथाभावी निर्णयहरु गर्दै कार्यरत कर्मचारीहरुलाई बिनियमावलीमा भएको मनसाय अनुरुप सेवासुविधाबाट विमुख गराउने अनुरुप सञ्चालक समिति अघि बढ्न थालेको छ ।

कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको मनसाय अनुरुप कार्यान्वयन गर्ने कर्तव्य सञ्चालक समितिको हो । र, सञ्चालक समितिको गैर जिम्मेवारीपनाको परिणाम कर्मचारीले भोग्न बाध्य पारिएको छ । यस सञ्चालक समितिको लाचारी पनाको भागिदार आम कर्मचारी बन्न नसक्ने र सञ्चालक समितिको मिचाहा प्रवृत्तिको विरोधमा लाग्ने सम्पूर्ण कर्मचारीहरुको मनसाय अनुरुप कर्मचारी संघले निर्णय गरेको आजको मितिले ७ दिनभित्र प्रमुख कार्यकारी अधिकृतको खुल्ला प्रतिस्पर्धाको विज्ञापन आह्वान गर्ने एवम् मिति २०७८ असार ३१ गते कम्पनी सञ्चालक समितिले गरेको बाह्य कार्यालयको भत्ता सम्बन्धमा व्याख्या नै तोडमोड गरी कर्मचारीहरुलाई दीर्घकालिन हानि पर्ने गरी गरिएको निर्णय एवम् कोरोना संक्रमित कर्मचारीको सुविधाको सम्बन्धमा भएको निर्णयहरु फिर्ता नलिएसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई आफ्नो कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरिएको र यस कारणबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सञ्चालक समिति नै हुने जानकारी गराउँछौं ।

२०७८।०४।०३

अध्यक्ष मोहन तिमल्सिना
महासचिव देवराज घिमिरे
राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*