पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विदेशीको पक्षमा

नेपाली कम्पनीले लाइसेन्स लिँदा पाँच करोड चाहिने, विदेशी कम्पनीले ६० लाखमै शाखाको अनुमति पाउने
रिना खत्री
१० श्रावण २०७८, आईतवार १०:२७

काठमाडौं । बीमा समितिले सरोकारवाला, विज्ञहरुसँग पर्याप्त छलफल नगरी २०७८ जेठ २६ गते जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विभेदकारी रहेको पाइएको छ ।

बीमा समितिले जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिकाको दफा ३ मा पुनर्बीमा दलालको लागि दश करोड रुपैयाँ अधिकृत पुँजि भएको कम्पनी आवश्यक पर्ने र पाँच करोड रुपैयाँ चुक्ता पुँजि हुनुपर्ने व्यवस्था छ ।

नेपाली कम्पनीले पुनर्बीमा दलालको लाइसेन्स लिँदा उक्त व्यवस्था लागू भएपनि विदेशी कम्पनीको शाखा कार्यालय नेपालमा स्थापना गर्दा भने न्यूनतम रकम लगानीमा खोल्न पाइने भएको छ । पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १७ मा विदेशी कम्पनीले नेपालमा पुनर्बीमा व्यवसायको अनुमति लिँदा जम्मा ५० हजार डलर अर्थात आजको मूल्यमा ५९ लाख ५० हजार रुपैयाँ धरौटी राखेपछि अनुमति पाउने व्यवस्था छ ।

सोही कारण पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विभेदकारी रहेको देखिएको हो । रोचक कुरा के छ भने नेपाली कम्पनीको पाँच करोड चुक्ता पुँजि मध्ये साढे दुई करोड रुपैयाँ बाणिज्य बैंकका चलाउन नमिल्ने गरी एयरमार्क गरेर राख्नुपर्ने व्यवस्था छ । तर, विदेशी कम्पनीले जम्मा ५९ लाख ५० हजार रुपैयाँ मात्रै धरौटी राखेर अनुमति लिई कारोबार गर्न पाउने भएका छन् ।

पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विदेशीलाई फाइदा पुग्ने गरी बीमा समितिले बनाउनु त्रुटीपूर्ण भएको बीमा बिज्ञ रविन्द्र घिमिरेले बताए । बीमा समितिको निर्देशिकाले नेपालीलाई भन्दा विदेशीलाई सहुलियत दिएकोले सचेत हुनुपर्ने र पर्याप्त छलफलको अभावमा यस्तो समस्या आएको बीमा क्षेत्रका जानकारहरुको भनाई छ । एउटै कारोबारको लागि नेपाललाई कडाई गर्ने र विदेशीलाई सजिलो बनाउने नेपाल सरकार र बीमा समितिको संस्थागत नीति भने छैन । तथापी विदेशी कम्पनीले नेपालमा शाखा स्थापना गर्दा नेपाली कम्पनीका लागि तोकिएको चुक्ता पुँजि सरहको रकम कोष वा धरौटी बापत राख्ने व्यवस्था गर्नुपर्नेमा त्यसो नगरिएको बीमा विश्लेषकहरुको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*