हिमालयन रिद्वारा अनुमति अगावै अबैध रुपमा पुनर्बीमा कारोबार

१३ श्रावण २०७८, बुधबार ११:३१

काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, बीमा समिति तथा अर्थमन्त्रालय उच्च अधिकारीबीचको सेटिङमा दर्ता भएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीले कारोबार अनुमति अगावै पुनर्बीमा व्यवसाय गरी अबैध रुपमा कारोबार गरेको पाइएको छ ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार केही निर्जिवन बीमा कम्पनीहरुले हिमालयन रिसँग कारोबार अघि नै कारोबार गरेका छन् । हिमालयन रिले साउन १० गते मात्रै कम्पनी रजिष्टारको कार्यालयबाट कारोबार अनुमति पाएको प्राप्त कागजातमा देखिएको छ । तर, एक निर्जिवन बीमा कम्पनीले हिमालयन रिसँग गत असार मसान्तमै कारोबार गरेको दावी गरेका छन् । बीमा ऐनमा लाइसेन्स लिएपछि कारोबार गर्न पाइने भएपनि कम्पनी ऐन तथा अन्य नेपालको प्रचलित कानुन बमोजिम कारोबार अनुमति लिएपछि मात्रै कारोबार गर्न पाइन्छ ।

कम्पनीले सिईओ नियुक्त गर्न सकेको छैन । कम्पनी रजिष्टारको कार्यालयले पनि राजनीतिक पहुँच र प्रभावको भरमा हिमालयन रि नामक कम्पनीलाई कम्पनीमा जवाफदेही व्यक्ति नहुँदै गैर जिम्मेवार तरिकाले कारोबार अनुमति दिएको खुलेको छ । कम्पनी रजिष्टारको कार्यालयले कारोबार अनुमति दिँदा सञ्चालकहरु स्वयम् जिम्मेवार हुने गरी कारोबार अनुमति दिएको जनाएको छ ।

कार्यालयले कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालक दर्ता किताब प्राप्त भएको बताउँदै सबै काम कारबाहीको उत्तरदायी र जिम्मेवार कम्पनी तथा सञ्चालक हुने गरी कारोबार स्वीकृति प्रदान गरिएको हिमालयन रिलाई दिएको कारोबार अनुमति पत्रमा उल्लेख छ । नेपाली नागरिक कर्मचारी तथा व्यवस्थापनमा नभएको अवस्थामा विदेशी नागरिकले अबैध रुपमा काम गरिरहेको संस्थालाई कम्पनी रजिष्टारको कार्यालयले कारोबार अनुमति दिएको पाइएको छ ।

हिमालयन रिले कारोबार अनुमति समेत पाएपछि साउन १० गतेदेखि भने औपचारिक रुपमा वैधानिक पुनर्बीमा कम्पनी बन्न पुगेको छ । यद्यपि उक्त कम्पनी दर्ता गर्दा गरिएको घोटाला, लगानी तथा एउटै व्यक्ति तथा परिवारका सदस्यको ३२ प्रतिशतभन्दा बढि शेयर लगानी भएका कारण चर्को विवाद र नेपाली बीमा इतिहासमा अहिलेसम्मकै ठूलो घोटाला काण्डको रुपमा कैयौं वर्षसम्म बहस चलिरहनेछ । साथै सो काण्डमा प्रत्यक्ष संलग्न व्यक्ति तथा मतियारहरु समेत आगामी दिनमा कुन र कतिवटा निकायका कठघरामा उभिनु पर्ने हुन्छ अहिले नै अनुमान लगाउन मुश्किल पर्नेछ ।

हिमालयन रिइन्स्योरेन्सले असार बिहिबार २४ गते पुनर्बीमा कम्पनी दर्ता प्रमाणपत्र पाएको थियो । सो कम्पनीका अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका शेखर गोल्छा छन् ।
कूल सात अर्ब चुक्ता पुँजि भएको कम्पनीको स्थापनासँगै नेपालमा पुनर्बीमा कम्पनीको संख्या औपचारिक रुपमा दुई वटा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*