निलम्वनमा परेका जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी नियमित काममा, बीमा समितिले छानविन गर्दै

१५ श्रावण २०७८, शुक्रबार १०:४५

काठमाडौं । निलम्वन परेका भनिएका जनरल इन्स्योरेन्स कम्पनीका लेखा प्रमुख निल बराली नियमित कार्यालयको काममा रहेको फेला परेको छ । बीमा समितिको निर्देशनपछि सञ्चालक समितिले निलम्वन गरेको भनिएका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बराली बीमा समितिलाई झुक्याउँदै नियमित काममा रहेको फेला परेको छ ।

आज विहान १०ः१० बजे बीमापोष्टबाट जनरल इन्स्योरेन्स कम्पनीमा टेलिफोन गर्दा बराली कार्यालयमै भेटिएका हुन् । उनले बीमापोष्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मलाई कसले निलम्वन गरेको हो, थाहा छैन, म नियमित काममा आइरहेको छु । उनले आफू निलम्वनमा परेको कुरा थाहा नपाएको र बीमापोष्टमा लेखिएको समाचारले आफ्नो मान हानी गरेकोले कानुनी उपचार खोज्ने समेत जानकारी दिएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी निलम्वनमा रहेको अवस्थामा कार्यालयमा आई काम गरेको सम्बन्धमा छानविन भइरहेको बताए । बीमा समितिले छानविन गरेकै अवस्थामा आज उनी कार्यालयमा भेटिएका हुन् । बीमा समितिको एक टोली हिजो जनरल इन्स्योरेन्स कम्पनी पुगेर निरिक्षण गरेको छ । कार्यकारी निर्देशक पौडेलले जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु निलम्वनमा गरिएको व्यहोराको पत्र प्राप्त भएको बताए ।

जनरल इन्स्योरेन्स सञ्चालक समितिले केही दिन पहिले फाइनान्स हेड बराली र अर्का एक कर्मचारीलाई निलम्वन गरेको थियो । निलम्वित कर्मचारी दैनिक हाजिर नगरी कार्यालयमा आई काम गरेपछि प्रमाण नष्ट हुनसक्ने भन्दै नियामक निकाय बीमा समितिमा उजुरी परेको थियो । सो सम्बन्धमा बीमा समितिले दुई जना चार्टर्ड एकाउन्टेन्टलाई सो घटनाको छानविन गर्न खटाएको छ ।

बीमा समितिले छानविन गरिरहेकै अवस्थामा निलम्वित कर्मचारी कार्यालयमा भेटिएपछि जनरल इन्स्योरेन्स कम्पनीको संस्थागत सुशासनमाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । सो कम्पनीका संस्थापक प्रमुख (सिईओ होइन) एसके तमोटकै पालादेखि बिग्रेको संस्थापक सुशासन कायम गर्न भर्खरै नियुक्त भएका सिइओ रामचन्द्र श्रेष्ठलाई चुनौति थपिएको छ ।

निलम्वित कर्मचारी कार्यालयमा आएर काम गरेको विषय एचआर विभागकी प्रमुख रेमिना मानन्धरले आफूलाई जानकारी नभएको बताईन् । उनले कुनै पनि कर्मचारी निलम्वनमा परेको सम्बन्धमा आफूलाई पत्र नआएको बीमापोष्टलाई जानकारी दिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*