कोरोना बीमाको दावी भुक्तानी दिन नसक्दा बीमा कम्पनीमाथी धम्की र गालाीगलौज

१५ श्रावण २०७८, शुक्रबार २२:३२

काठमाडौं । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी दिन नसकेपछि आक्रोसित बीमितहरुले बीमा कम्पनीमाथि धम्की तथा गाली गलौज समेत गर्न थालेका छन् । कोरोना बीमा पुलबाट प्रमाणिकरण भई रकम अभावका कारण झण्डै ५० हजार जनाको दावी भुक्तानी रोकिएको छ ।

बीमा कम्पनीहरुमाथि लगातार धम्की र गाली गलौज बढेपछि आज सबै बीमा कम्पनीका सिईओहरुले बीमा समितिमा आफ्ना शाखा कार्यालयहरुमा बीमितहरुले धम्की दिन थालेको भन्दै गुनासो गरेका छन् । एक बीमा कम्पनीका सिईओले बीमापोष्टसँग भने ‘मोफसलका शाखा कार्यालयहरुमा धम्की दिने, अनावश्यक र असम्बन्धित मानिसहरु लिएर रकम उठाउन आउने तथा तथानाम गाली गर्ने क्रम बढेको छ ।’ बीमितहरुले लगातार धम्की दिन थालेपछि बीमा कम्पनीहरुले आफ्नो शाखा कार्यालयको सुरक्षा तथा बीमितसँग बिग्रेसको सम्बन्धका कारण नेपाली बीमा व्यवसायमा पर्न सक्ने दीर्घकालिन असरको सम्बन्धमा गम्भिर हुन औपचारिक आग्रह गरिएको नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले जानकारी दिए ।

बीमा कम्पनीहरुका अनुसार पछिल्लो समय देशका विभिन्न शाखाहरुमा बीमितहरुले धम्की दिएको भन्दै केन्द्रीय कार्यालयहरुमा खवरहरु आउने क्रम बढेका छन् । बीमितहरुले धम्की दिन थालेपछि शाखा कार्यालयहरु सचेत हुन समेत भनिएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ अनुसार नेपाल सरकार समेतको संलग्नतामा २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा २० लाखभन्दा बढि नागरिकले खरिद गरेका थिए । सो मध्ये एक लाख २० हजार भन्दा बढि बीमित कोरोना संक्रमति भई बीमा दावी गरेकोमा करिब ५० हजार मानिसले मात्रै रकम प्राप्त गरेका छन् । अझै करिब ५० हजार प्रमाणिकरण भई भुक्तानीको लागि रकम अभावमा अल्झिएको छ भने करिब २० हजार प्रमाणिकरण हुन बाँकी नै छ ।

कोरोना बीमा मापदण्ड अनुसार तीन अर्ब ५० करोड रुपैयाँको मात्रै स्रोत सुनिश्चित गरिएको थियो । सोभन्दा माथिको दावी भुक्तानी नेपाल सरकारले व्यहोर्ने गरी कोरोना बीमा मापदण्ड २०७७ जारी गरिएको थियो । नेपाल सरकारको बजेटमा कही कतै व्यवस्था नभएका कारण सरकारले कोरोना बीमा दावी भुक्तानीको लागि रकम दिन नसकिएको अर्थमन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको बजेटमा कोरोना बीमाको रकम सम्बन्धमा कही कतै उल्लेख नभएकोले कानुनी समस्या उत्पन्न भएको अर्थसचिव शिशिर ढुंगानाले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*