कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयमा पहल हुँदै

१६ श्रावण २०७८, शनिबार १४:२५

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गम्भिर समस्या बनेपछि बीमक संघ र बीमा समितिले अर्थमन्त्रालयमा छुट्टा छुट्टै पहल गर्ने भएका छन् ।

कोरोना बीमाको दावी भुक्तानीमा छ अर्बभन्दा बढि बक्यौता रहेपछि बीमा समिति र बीमक संघले अर्थमन्त्रालयमा छुट्टा छुट्टै पहल गर्ने तयारी गरिरहेका छन् । बीमा समितिले स्रोतका अनुसार सोमबार बीमा कम्पनीहरुबाट विवरण लिएर कूल अनुमानित रकम सहित अर्थमन्त्रालयमा पत्र पठाउने तयारी भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिले औपचारिक च्यानलबाट कोरोना बीमाको दावी भुक्तानीको लागि पहल हुनेछ ।

उता, नेपालमा सञ्चालित सबै निर्जिवन बीमा कम्पनीका सिईओहरुले संयुक्त रुपमा अर्थमन्त्रालयमा गएर समस्याबारे अवगत गराउने तयारी गरेका छन् । एक सिईओले बीमापोष्टसँग भने, ‘बीमाबारे नै नकारात्मक प्रचार भइरह्यो, यसले सिंगो व्यवसायमै असर पार्ने हुँदा हामीले सकेको पहल गरेर सरकारबाट रकम ल्याएर कोरोना बीमाको बक्यौता भुक्तानी गर्छौ ।’

बीमक संघको पहलमा यही साता कोरोना बीमाको दावी भुक्तानीको विषयलाई लिएर अर्थमन्त्रालयमा डेलिगेशन जाने तयारी भइरहेको संघले जनाएको छ ।

कोरोना बीमा पुलमा स्रोत अभावमा ५० हजार भन्दा बढि मानिसको दावी भुक्तानी रोकिएको छ । रकम अभाव हुँदा सबै प्रक्रिया पूरा भई प्रमाणिकरण भइसकेका फाइल समेत रोकिएको हो । कोरोना बीमा मापदण्ड अनुसार नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र निर्जिवन बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट जुटाइएको साढे तीन अर्ब रुपैयाँबाट सुरुमा दावी भुक्तान गरिएको थियो । सो भन्दा माथिको भुक्तानी नेपाल सरकारले व्यहोर्ने शर्तमा गरिएको कोरोना बीमाको रकम सरकारले निकासी नगरेपछि रोकिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*