६० हजारभन्दा बढिले पाएनन् कोरोना बीमाको दावी भुक्तानी, कूल दावी ११ अर्ब नाघ्ने

दिपक विष्ट
१७ असार २०७८, बिहीबार १७:३३

काठमाडौं । बीमितहरुमा अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी भुक्तानीमा आर्थिक जटिलता पैदा भएको छ । हालसम्म तीन अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी भएपनि अझै पाँच अर्बभन्दा बढि प्रमाणित फाइलको दावी भुक्तानी हुन सकेको छैन । बीमा दावी प्रक्रियामा रहेको समेत गणना गर्दा कूल दावी ११ अर्बभन्दा बढि हुने भएको छ ।

बीमा पुलको तथ्याङ्क अनुसार नौ अर्ब ३७ करोड छ लाख ६८ हजार ७५४ रुपैयाँको दावी परेको छ । अझै दुई अर्बभन्दा बढि दावी बीमा पुलमा जाने क्रममा रहेको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढि दावी राष्ट्रिय बीमा कम्पनीको छ । सो कम्पनीबाट मात्रै दुई अर्ब भन्दा बढि दावी परेको छ ।

बीमा पुलले प्रमाणीकरण गरेको मध्ये करिब ४०,००० मानिसले कोरोना बीमाको भुक्तानी दाबी गरिसकेका छन् भने ४० हजार मानिस फाइल प्रमाणिकरण भएर पनि रकम पाउन सकेका छैनन् । त्यस्तै प्रमाणिकरण हुन बाँकी थप २० हजार जना पनि कोरोना बीमा दावी भुक्तानी पाउने आशामा बसेका छन् ।

बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गराएको कोरोना बीमाको दावी भुक्तानी हुन नसक्दा बीमाबारे नकारात्मक प्रचार भइरहेको छ । बीमा पुलबाट बीमापोष्टलाई प्राप्त पछिल्लो तथ्याङ्क अनुसार कूल ९७ हजार ६ सय २८ जनाको फाइल बीमा दावी भुक्तानीको लागि बीमा पुलमा पुगेको छ । जसमध्ये ८० हजार २ सय ८६ जनाको फाईल कागजात लगाएतका प्रक्रिया पूरा भई दावी भुक्तानी गर्ने रकमको अभावमा अल्झिएको छ ।

हालसम्म ७ अर्ब ६१ करोड ४ लाख १२ हजार ७ सय ११ रुपैयाँ दावी भुक्तानी गरिसक्नुपर्नेमा तीन अर्ब ५० करोड रुपैयाँ मात्रै दावी भुक्तानी भएको छ ।कोरोना बीमा मापदण्ड २०७७ मा भएको व्यवस्था अनुसार बीमा कम्पनीहरुले एक अर्ब, पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा समितिले एक अर्ब तथा बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँसहित कूल तीन अर्ब ५० करोड रुपैयाँ बीमितहरुलाई दावी भुक्तानीबापत वितरण गरि सकिएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ ले सो भन्दा बढि दावी परेको अवस्थामा नेपाल सरकारले व्यवहोर्ने उल्लेख भएकोले सोही बमोजिम अर्थ मन्त्रालयबाट बजेट निकासा हुने भन्दै कम्पनीहरुले बीमितहरुलाई पर्खाइरहेका छन् ।तथ्याङ्क अनुसार ७ सय ६० वटा फाईल स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा रोकिएको छ । त्यहाँ प्रमाणिकरण हुन नसकेपछि उक्त फाइफहरु रोकिएका हुन् ।

त्यस्तै, झण्डै दुई हजार जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको छ । बीमा पुलले पठाएको तथ्याङ्क अनुसार १ हजार ८ सय ८५ वटा वटा फाईल कम्पनीमै फिर्ता पठाइएको हो । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।२ हजार ११ जनाको फाइल स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाउने तयारी गरिरहेको छ । तीन हजार २ सय ६७ जनाको फाइल प्रमाणिकरण प्रकृयामा रहेको छ ।

उता, दोहोरो बीमा दावी गर्ने एक हजार २५ जनाको फाईल बीमा दावी भुक्तानी नपाउने गरी फाईल क्लोज गरिएको छ । उनीहरुले दावी भुक्तानीको लागि एउटा कम्पनीबाट कागजात पेश गरिसकेको अवस्थामा पुनः दोस्रो पटक पनि दावी भुक्तानीको लागि कागजात पेश गरेकोले दावी भुक्तानी नहुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*