प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर पुनः लिलामीमा

२७ असार २०७८, आईतवार १२:२४

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक शेयर पुनः लिलामीमा ल्याएको छ । कम्पनीले आजेदेखि सो शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यसभन्दा अघि कम्पनीले सोही कित्ता असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको थियो । प्रतिकित्ता ६०० का दरले लिलामीमा ल्याउँदा बिक्री नभएको कारण कम्पनीले पुनः दोस्रो पटक लिलामीमा ल्याएको हो ।

कम्पनीले आज असार २७ गतेदेखि उक्त संस्थापक शेयर लिलामीमा ल्याएको छ । जसमा इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले साउन ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य ५० रुपैयाँ घटाएर ५५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*