जनरल इन्स्योरेन्सको साढे तीन करोडको घोटालामा बीमा समितिको भूमिका शंकास्पद

संलग्नमाथि कर्मचारीमाथि कारवाही गर्न बीमा समिति असफल, अध्यक्ष कयालकै कारण संस्थागत सुशासन बिग्रदै
१७ श्रावण २०७८, आईतवार २३:४१

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा भएको साढे तीन करोड घोटाला काण्डमा संलग्नमाथि नियामक निकाय बीमा समितिले कारवाही गर्न आनाकानी गरेकोले नियामक निकायको भूमिका नै शंकास्पद देखिएको तथ्य बाहिर आएको छ ।
आज प्रकाशित आर्थिक दैनिकका अनुसार २०७६ साल साढे तीन करोड भुक्तानी गरिएको खिलुङ कालिका एग्रो फर्ममा कुखुरा मरेको बीमा दावीमाथि अनेकन कोणबाट आशंका व्यक्त गर्दै नियामक निकाय नै भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाइएको छ ।

आज प्रकाशित सो पत्रिकाका अनुसार बीमा समितिमा परेको उजुरीमाथि स्थलगत अवलोकनका लागि पुग्दा कारवाहीमा परेका र उक्त काण्डमा संलग्न अभियुक्त भागेर बीमा समितिमा आई तीन घण्टासम्म चोटा कोठा चहारेर साँझ सुरक्षित रुपमा घर फर्किएको दावी गरिएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक महाप्रबन्धक एसके तमोटको पालामा बिग्रेको भत्केको संस्थागत सुशासन वर्तमान सिईओ रामचन्द्र श्रेष्ठले जारी राखेपछि जनरल इन्स्योरेन्स कम्पनीमा संस्थागत सुशासन कायम गर्नु निकै चुनौतिपूर्ण बन्ने देखिएको छ । सञ्चालक समिति मातहतको उपसमितिले दोषी ठहर गरी कारवाही गर्न सिफारिस गरेका तथा बीमा समितिले पटक पटक कारवाही गर्न लिखित निर्देशन दिएको व्यक्तिलाई बीमा समितिको संरक्षण प्राप्त हुनुले नियामक निकायको कार्यक्षमतामाथि नै प्रश्न चिन्ह खडा हुन पुगेको छ ।

आज प्रकाशित समाचार अनुसार साढे तीन करोड रुपैयाँको दावी भुक्तानी बीमाको करार विपरितमा कम्पनीका अध्यक्ष कुनाल कयाल, तत्कालिन महाप्रबन्धक एसके तमोटसहितका उच्च व्यवस्थापनको संलग्नता रहेको भएपनि बीमा समितिले हालसम्म पनि कुनै कारवाही गर्न नगरेको आरोप लगाइएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कयाल कारवाहीमा नपर्नुमा बीमा समितिका अध्यक्ष सूर्य सिलवालको गाउँले दाजुभाइ नाता मुख्य रुपमा जिम्मेवार रहेको समेत ठहर्याइएको छ । सो समाचारमा भनिएको छ, ‘कयालले बीमा समितिकै आडमा हालै मात्रै सञ्चालक समितिले निलम्वन गरेका सह–महाप्रबन्धक तथा लेखा प्रमुख निल बराइलीलाई दैनिक रुपमा कार्यालयमा उपस्थित गराई काम गराइरहेका छन् । भ्रष्टाचारमा संलग्नमाथि कारवाही हुनुको साटो उल्टै बीमा समितिबाट संरक्षण पाएपछि बीमा क्षेत्रमा संस्थागत सुशासनको सम्बन्धमा गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।’

स्याङ्जाको भिरकोट गाउँपालिकामा खुमा प्रसाद अर्याल, केशव न्यौपानेसहित ७ जना सञ्चालक भएको खिलुङ कालिका एग्रो फर्ममा कृत्तिम रुपमा घटना रचना गरी तीन करोड ५० लाख भन्दा बढि रुपैयाँ घोटाला गरिएको र सो सो घटनामा जनरल इन्स्योरेन्स कम्पनीको संस्थागत संलग्नता रहेको समाचारमा उल्लेख छ ।

समाचारमा नेपाल पुनर्बीमा कम्पनीसँग गरिएको सम्झौता विपरित जनरल इन्स्योरेन्स कम्पनीले कखुरा भटाभट मर्दै गरेको अवस्थामा बीमा गरिएको तथ्यहरुले औल्याएको तथा कुखुरा मरेको भनेर प्रमाणित गर्ने चिकित्सकको कागजात समेत फर्जी देखिएपछि घटना नै कृत्तिम हो कि भन्ने आशंका उत्पन्न भएको दावी गरिएको छ ।

भ्रष्टाचार र अनियमितता सम्बन्धी मुख्य सामग्री छापिने सो दैनिक पत्रिकामा मुख्य समाचारको रुपमा प्रकाशित समाचारमा भनिएको छ, ‘दावी भुक्तानी उप समितिको सञ्चालक समितिले नगरेपछि सो कम्पनीका सञ्चालक शशी बज्राचार्यले बीमा समितिलाई समेत सो सम्बन्धमा मौखिक रुपमा जानकारी गराएका थिए । कुनै कारवाही नभए पछि अन्त्यमा २०७७ चैत्र २४ गते पदबाट राजिनामा गरिरहेका छन् ।’

‘२०७७ साल कार्तिक १२ गते सो कम्पनीको दावी भुक्तानी उपसमितिका संयोजक शशी बज्राचार्यको संयोजकत्वमा बसेको बैठकले खिलुङ कालिका काण्डमा संलग्नमाथि कारवाही गर्न माईन्यूट गरेको कागजातहरु प्राप्त भएका छन् । सो बैठकले तत्कालिन महाप्रबन्धक सानुकाजी (एसके) तमोट, नायब महाप्रबन्धक राजेश मानन्धर, उप महाप्रबन्धक बिनेश मास्के, उप महाप्रबन्धक निल बराइली र बरिष्ठ प्रबन्धक प्रदिप कुमार यादव संलग्न भएको भन्दै कारवाही गर्न सिफारिस गरेको खुलेको छ,’ आर्थिक दैनिकमा आज प्रकाशित समाचारमा उल्लेख छ ।

आर्थिक दैनिकको समाचार पढ्न यहाँ क्लीक गर्नुहोला ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*