बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा म्यादी बीमा ६७ प्रतिशतले घट्यो

२२ श्रावण २०७८, शुक्रबार १३:५१

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै बीमा पुलमार्फत संचालन हुँदै आएको म्यादी जीवन बीमा शुल्क ६७ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण विश्वभरको श्रम बजार प्रभावित हुँदा नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको संख्या भारी कटौति भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७।७८ को असार मसान्तसम्ममा वैदेशिक रोजगारीमा जानेहरुलाई म्यादी जीवन बीमा शुल्क बापत ६ लाख ८६ हजार ६ सय ४७ वटा बीमालेख बिक्री गरी जम्मा ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । उक्त बीमालेख नेपालबाट विदेश गएको नभई छुट्टीमा आएकाहरुको नविकरण तथा विदेशमै रहँदा बीमा नविकरण गरिएको शुल्क हो ।

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले म्यादी जीवन बीमा शुल्क बापत एक अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । वैदेशिक रोजगारीमा जानेको सङख्या घटेसँगै म्यादी बीमा घटेको देखिएको छ ।

बीमा समितिको तथ्याङक अनुसार गत असार मसान्तसम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, नेशनल लाइफले ३ करोड रुपैयाँ, नेपाल लाइफले ३ करोड रुपैयाँ, प्राइम लाइफले २ करोड यूनियन लाइफले २ करोड रुपैयाँ, ज्योति लाइफले १ करोड रुपैयाँ, एशियन लाइफले १ करोड रुपैयाँ, आइएमई लाइफले १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

म्यादी जीवन बीमा १९ वटा कम्पनीले पुलमार्फत र मेट लाईफ इन्स्योरेन्स कम्पनीले छुट्टै स्वतन्त्र रुपमा गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*