पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफको आईपओ भर्ने आज अन्तिम दिन

२४ श्रावण २०७८, आईतवार ०८:१५

काठमाडौं । मागभन्दा अत्याधिक बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँड गर्दा कूल पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओमा आवेदन भर्ने आज अन्तिम दिन हो ।

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज अर्थात साउन २४ गतेसम्म मात्र आवेदन दिन पाइने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी गरेकोमा कम्पनीका कर्मचारीलाई तीन लाख कित्ता र सामूहिक लगानी कोषका लागि तीन लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ । उक्त आईपिओमा हालसम्म २१ लाखभन्दा बढि मानिसले आवेदन दिइसकेकाले न्यूनतम् १० कित्ताको दरले वितरण गर्दा पनि सबैले शेयर पाउन असम्भव छ । त्यस्तो अवस्थामा गोलाप्रथामार्फत आईपिओ बाँडफाँड हुने कम्पनीले जनाएको छ । गोलाप्रथामार्फत बाँडफाँड हुँदा न्यूनतम १० कित्ताको दरले जम्मा ५ लाख ४० हजार जनाले सानिमा लाइफ इन्स्योरेन्सको शेयर पाउनेछन् ।

न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने उक्त आईपिओमा धेरै रकमको आवेदन दिनुको कुनै अर्थ छैन । आवेदक आवेदन दिन बाँकी रहेकाहरुले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामै भौतिक रुपमा उपस्थित भएर तथा अनलाईनबाट मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । त्यस्तै एनआईसी एसिया बैंकका खातावालहरुले उक्त बैंकको मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*