१२.५ प्रतिशत बजार हिस्सासहित शिखर उत्कृष्ट, सगरमाथा, नेको र सिद्धार्थबीच कडा प्रतिस्पर्धा हुँदा एनएलजी अघि बढ्दै

२६ श्रावण २०७८, मंगलवार १०:२८

काठमाडौं । गत आर्थिक वर्षमा निर्जिवन बीमा कम्पनीहरुको बजार हिस्साको आधारमा शिखर इन्स्योरेन्स कम्पनी फेरि पनि देशकै पहिलो कम्पनी बन्न सफल भएको छ । सबै कम्पनीहरुको वित्तीय विवरण प्रकाशन त भइसकेको छैन यद्यपि बीमा समितिले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्क आम्दानी तीन अर्ब ९७ करोड हुँदा नेपाली निर्जिवन बीमा बजारमा १२.५२ प्रतिशत हिस्सा ओगट्न सफल भएको देखिएको छ ।

विगत केही वर्षदेखि उत्कृष्ट रहँदै आएको शिखरको अग्रता कायमै रहँदा दोस्रो कम्पनीका लागि सगरमाथा, नेको र सिद्धार्थ इन्स्योरेन्सका बीचमा कडा प्रतिस्पर्धा चलेको देखिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको उत्तराद्र्धमा गरेको उल्लेख्य प्रगतिसँगै कूल बीमा शुल्क आम्दानी दुई अर्ब ६५ करोड हुँदा बजार हिस्सा ८.३६ सहित दोस्रो स्थानमा छ । तीन कम्पनीका बीचमा कडा प्रतिस्पर्धा चलिहरँदा नेको इन्स्योरेन्सले दुई अर्ब ४१ करोड कूल बीमा शुल्क आम्दानी गरेको छ भने सिद्धार्थले दुई अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । बजार हिस्सा क्रमशः ७.६० र ७.३२ प्रतिशत रहेको छ । उल्लेखित तीन कम्पनीका बीचमा कडा प्रतिस्पर्धा रहेकोले कुनैपनि तलमाथि हुनसक्ने देखिएको छ ।

त्यस्तै नेपाली निर्जिवन बीमा व्यवसायमा जबरजस्त रुपमा एनएलजी इन्स्योरेन्स कम्पनी अघि बढिहेको छ । विगतका वर्षहरुमा निकै पछाडि रहेको कम्पनी गत आर्थिक वर्षमा आर्जन गरेको कूल बीमा शुल्कका आधारमा पाँचौ नम्वरमा पर्न सफल भएको छ । एनएलजी इन्स्योरेन्सको प्रगति दर हेर्दा चालु आवमा उल्लेखित तीन कम्पनीहरुलाई कडा टक्कर दिने सम्भावना देखिएको छ । सो कम्पनीले गत आर्थिक वर्षमा दुई अर्ब आठ करोड रुपैयाँ सहित बजार हिस्सा ६.५६ प्रतिशत नियन्त्रणमा लिन सफल भएको छ ।

त्यस्तै छैटौं नम्वरमा प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ प्रतिशत बजार हिस्सा ओगटेको छ भने राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ६३ करोड कूल बीमा शुल्क सहित ५.१४ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बजार हिस्सा ४.७९ प्रतिशत हुँदा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ४.२९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.२६ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४.१० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ४.०४ प्रतिशत र अजोड इन्स्योरेन्सको ४.०१ प्रतिशत रहेको छ । चार प्रतिशत बजार हिस्सा सहित सात कम्पनीले बीमा व्यवसाय गरिरहेको देखिएको छ । नयाँ कम्पनी अजोडको पुराना अन्य छ कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको देखिएको छ ।

सबैभन्दा पुछारमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बजार हिस्सा २.०५ प्रतिशत हुँदा जनरल इन्स्योरेन्स र भारतीय कम्पनीको शाखा नेशनल इन्स्योरेन्स कम्पनीको पनि क्रमशः २.०५ र २.७४ प्रतिशत बजार हिस्सा देखिएको छ । त्यस्तै, एभरेष्टको बजार हिस्सा ३.१९ प्रतिशत, युनाईटेड इन्स्योरेन्सको ३.३१ प्रतिशत, दि ओरियन्टल इन्स्योरेन्सको ३.६६ प्रतिशत बजार हिस्सा देखिएको छ ।
विगतमा पुछारमा रहेको युनाईटेड इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय बृद्धि भएको छ भने भारतीय बीमा कम्पनीका शाखा कार्यालयहरुको व्यवसाय विस्तारै घटिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*