रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा साढे दुई अर्ब माथि, बीमा शुल्क आम्दानी झण्डै दोब्बर
काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याउन सफल भएको छ । गत आवमा जम्मा एक अर्ब १७ करोड तीन लाख ६१ हजार रुपैयाँको जीवन बीमा कोष रहेकोमा गत आर्थिक वर्षमा कोरोना कहरकै बीचमा कम्पनीले बीमा शुल्क आम्दानी उल्लेख्य बृद्धि गरी कोषको आकार दोब्बर बनाउन सफल भएको हो । कम्पनीको जगेडा कोष ३१.७६ प्रतिशतले बृद्धि भई ८४ करोड ३५ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, महाविपत्ति कोषमा सात करोड ७६ लाख १३ हजार रुपैयाँ संचिती गरेको छ । कम्पनीको कोषको आकार ८७.७२ प्रतिशतले बृद्धि भई तीन अर्ब ५० करोड ६३ लाख आठ हजार रुपैयाँ संचिती छ ।
कम्पनीले गत आवमा दुई अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । आव २०७६।७७ मा कम्पनीले जम्मा एक अर्ब ५७ करोड ३८ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी ८८.०१ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै कुल बीमा शुल्क आम्दानी ८८.०३ प्रतिशतले बृद्धि भएको छ । कुल बीमा शुल्क आर्जन तीन अर्ब एक करोड रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कूल बीमा शुल्क आम्दानी एक अर्ब ६० करोड रुपैयाँ मात्रै थियो ।
कम्पनीले गत आर्थिक वर्षमा ६७ करोड ९८ लाख २० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको दावी भुक्तानी १२३.६३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको समीक्षा अवधीमा ३० करोड ३९ लाख ८७ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा यस आवमा दोब्बर भन्दा बढिले बृद्धि भएको हो ।
कम्पनीले समीक्षा अवधीमा बीमालेख संख्या दोब्बर बनाउन सफल भएको छ हालसम्म कायम बीमालेख संख्या १०६.०९ प्रतिशतले बृद्धि भई ३६ लाख ९६ हजार रहेको छ । अघिल्लो वर्षमा १७ लाख ५१ हजार मात्रै थियो । पोलिसीका हिसावले पनि व्यवसाय दोब्बर भन्दा धेरैले बृद्धि गर्न सफल भएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीले जम्मा २१ करोड ४३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको मुनाफा ५.३९ प्रतिशतले बृद्धि भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा वित्तीय विवरणमा प्रकाशन गरेकै आधारमा अन्तिम मुनाफा मान्नु हुँदैन । बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा घटबढ हुनसक्ने सम्भावना हुन्छ ।
कम्पनीको लगानी तथा अन्य आय ३३.९६ प्रतिशतले बृद्धि भई ४३ करोड ५१ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आवमा जम्मा ३२ करोड ४८ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
गत आवमा कम्पनीले ५१ करोड ८३ लाख चार हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्लो आवको समीक्षा अवधीमा ३० करोड ९७ लाख ७१ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीको गत आवमा उक्त खर्च ६७.३२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै कम्पनीको अभिकर्ता कमिशन समेत ६९.७८ प्रतिशतले बृद्धि भई ४२ करोड ७६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीले आफ्ना अभिकर्तालाई २५ करोड १८ लाख ८८ हजार रुपैयाँ कमिशन बापत वितरण गरेको थियो ।
कूल एक अर्ब ४० करोड चुक्ता पुँजि भएको कम्पनीको वित्तीय सूचांकहरु सकारात्मक सुधार देखिएको छ । बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १६.१४ रुपैयाँ भने कम्पनीको नेटवर्थ १६५.९६ रुपैयाँ छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको ५१८.४२ रुपैयाँ रहेकोछ ।