वित्तीय विवरणमा झनै बलियो बन्दै प्राइम लाइफ, झण्डै १५ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी चार अर्ब

२९ श्रावण २०७८, शुक्रबार १०:२१

काठमाडौं । गत आर्थिक वर्षमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको आज प्रकाशित आव २०७७।०७८ को बार्षिक वित्तीय विवरणले देखाएको छ । गत असार समान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्राइम लाइफको जीवन बीमा कोष नै झण्डै १५ अर्ब अर्थात १४ अर्ब ६९ करोड ५७ लाख ५४ हजार रुपैयाँको बनेको छ । समीक्षा अवधीमा अघिल्लो आवमा ११ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष गत आवमा २८.०५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको जगेडा कोषमा ६९ करोड २६ लाख ३१ हजार रुपैयाँ संचिती छ । साथै महाविपत्ती कोषमा संचित भएको १५ करोड ५४ लाख रुपैयाँ सहित प्राइम लाइफसँग १५ अर्ब ५४ करोड ३५ लाख ३२ हजार रुपैयाँको कोष खडा गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको आकार अघिल्लो आवको तुलनामा २४.२९ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषसहितका कोषहरु महत्वपूर्ण मानिन्छन् ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी २२.११ प्रतिशतले बृद्धि गरी झण्डै चार अर्ब पुर्याउन सफल भएको छ । अघिल्लो आवमा तीन अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत आवमा तीन अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब १३ करोड १३ लाख ७६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा ६५ करोड ३२ लाख सात हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा ७३.२० प्रतिशतले बृद्धि भएको देखिएको छ ।
कम्पनीको आम्दानी २४.७४ प्रतिशतले बृद्धि भएको छ । गत आबमा एक अर्ब १५ करोड २२ लाख छ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा एक अर्ब ४३ करोड ७२ लाख ५३ हजार रुपैयमाँ लगानी, कर्जा तथा अन्यबाट आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च नगण्य मात्रामा बृद्धि भएको छ । गत आवमा ५९ करोड ३३ लाख रुपैयाँ खर्च गरेको कम्पनीले गत आवमा ६० करोड ३१ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीले अभिकर्तालाई कमिशनबापत ४३ करोड नौ लाख नौ हजार रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवमा ३५ करोड नौ लाख रुपैयाँमा वितरण गरेको खूद बीमा शुल्कमा आएको बृद्धिसँगै अभिकर्ता कमिशन समेत बृद्धि भएको हो ।

कम्पनीको मुनाफा ३४.८४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको आर्जन गरेको कम्पनीले गत आवमा ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको आम्दानीमा आएको बृद्धिसँगै मुनाफा बृद्धि भएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको बिमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा हेरफेर हुनसक्ने सम्भावना भने रहन्छ ।

कम्पनीको हाल कायम पोलिसी संख्या दुई लाख २२ हजार ९५७ रहेको छ । गत आवमा यस्तो संख्या दुई लाख ९० हजार ५३८ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १२.७५ रुपैयाँ रहेको छ भने पिई रेसियो ७४.८० छ । त्यस्तै प्रतिेशयर नेटवर्थ १३५.०७ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७९१.७३ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*