भदौंभित्रै तीन आर्थिक वर्षको साधारणसभा गर्ने राष्ट्रिय बीमा संस्थानको तयारी, थप तीन वर्षको समेत छिट्टै

३ भाद्र २०७८, बिहीबार १२:४५

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा सस्थानको तीन आर्थिक वर्षको साधारणसभा यही भदौं महिनाभित्रै गर्ने तयारी गरिएको छ । गत असारमै गर्ने तयारी गरिएको संस्थानको साधारणसभा बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुन ढिलाई भएकोले पर सरेर भदौंमा पुगेको हो ।

धेरै पुरानो वित्तीय विवरणमा आवश्यक कागजातहरुको अभावमा विस्तृत अध्ययनमा समस्या परेका कारण पटक पटकको छलफलपछि केही दिन पहिले बीमा समितिले संस्थानको वित्तीय विवरण स्वीकृत गरेको छ ।

वित्तीय विवरण स्वीकृत भएसँगै भदौं महिनाभित्रैमा बार्षिक साधारणसभा गर्न लागेको हो । राष्ट्रिय बीमा संस्थानको बोर्डले यही भदौं २६ गते बार्षिक साधारणसभा गर्ने तयारी गरेको जनाएको छ । यद्यपि औचापरिक निर्णय भने भइसकेको छैन । सरकारी लगानीको संस्थानमा बार्षिक साधारणसभा गरेपछि राष्ट्रिय बीमा कम्पनीलाई समेत सहज हुनेछ ।

आर्थिक वर्ष २०६५।०६६ सम्मको बार्षिक साधारणसभा पाँच वर्षअघि गरेको कम्पनीले अब थप तीन आर्थिक वर्ष २०६६।०६७, २०६७।६८ र २०६८।०६९ को साधारणसभा गर्न लागेको हो ।

संस्थानले थप तीन वर्षको वित्तीय विवरण तयार पारेर बीमा समितिमा पेश गरिसकेको छ । आर्थिक वर्ष २०६९।०७०, २०७०।०७१ र २०७१।०७२ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत हुने वित्तिकै केही महिनाभित्रैमा थप तीन वर्षको साधारणसभा हुने संस्थानले जनाएको छ ।

राष्ट्रिय बीमा संस्थानमा सबैभन्दा मुख्य समस्या रहेको आवहरुको वित्तिीय विवरण बीमा समितिबाट स्वीकृत भइसकेको छ । पछिल्ला वर्षहरुका वित्तीय विवरणमा खासै समस्या नरहेकोले अव सबै आर्थिक वर्षका साधारणसभाहरु नियमित हुँदै जाने संस्थानको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*