हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा लैजान पार्टनर खोज्दै स्व. राज कृष्ण श्रेष्ठका उत्तराधिकारीहरु

संस्थापक अध्यक्षको निधन भएको वर्षदिन नपुग्दै मर्जरमा लैजान छलफल तीव्र
नबराज न्यौपाने
११ भाद्र २०७८, शुक्रबार ०८:३५

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीलाई मर्जरमा लैजान पार्टनर खोजिरहेका छन् । यसअघि शिखर इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला चलेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अहिले सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा जाने हल्ला बजारमा चलिरहेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीसँग त हल्ला मात्रै नभएर एक महिना पहिले सगरमाथा इन्स्योरेन्स कम्पनीको नक्सालस्थित एक हलमा दुई कम्पनीका बीचमा मर्जरमा जाँदा अवस्था के हुन्छ भन्ने तथ्याङ्कसहित छलफल भएको जानकारी बीमापोष्टलाई प्राप्त भएको छ । एउटा जीवन्त कम्पनी मर्जरमा जाने वा मर्जरमा ल्याउने प्रक्रिया नियमित चल्ने एउटा प्रक्रिया हो । तर, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको हकमा भने मर्जरमा जानुको उद्देश्य कम्पनीका संस्थापकको निधनपछि उहाँका उत्तराधिकारीले जतिसक्दो छिटो कम्पनी छोड्ने उद्देश्य निहित देखिएको छ ।

नेपाली बीमा इतिहासका धरोधर, नेपालमा विकास तथा विद्युतीय विकास पूर्वाधार भित्राउन ऐतिहासिक व्यक्तिव्य स्व. राज कृष्ण श्रेष्ठले सन् १९९३ मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको संस्थापना गरेका थिए । उनै संस्थापक श्रेष्ठको २०७८ जेठ २७ गते ९४ वर्षको उमेर निधन भएको थियो । कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको एक वर्ष पनि पुग्न नपाउँदै उनका उत्तराधिकारीहरु भने कम्पनी मर्जरमा लैजान पार्टनरहरु खोज्दै हिडिरहेका छन् । सोही क्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीसँग मर्जर छलफल भएको स्रोतको दावी छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक स्व. राजकृष्ण श्रेष्ठ नेपाल कमर्शियल इन्टरप्राईजेज (एनसिई) मार्फत नेपालमा विकास र प्रविधि भित्राउने ऐतिहासिक व्यक्तित्व हुन् । काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलका सञ्चालक श्रेष्ठ, दर्जनौं समाजसेवी संस्थामा आबद्ध थिए । नेपालमा पहिलो पटक टेलिस्कोपिक ब्रिज (महाकाली नदिको पुल) भित्राउने उनै श्रेष्ठ थिए । काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्य बिनायकसम्म चलेको ट्रली बस निर्माणमा लिक निर्माण गर्ने लगायतका धेरै काम उनै श्रेष्ठको संलग्नतामा भएको थियो । पञ्चायतकालमा अमेरिका, रसिया र जापानका बहुराष्ट्रिय कम्पनीसँग सहकार्य गरेर नेपालमा विद्युतीय पूर्वाधार भित्राउन ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तिव्य राजकृष्ण श्रेष्ठले नेपालका बीमाको अभाव महसुस गरी केही पार्टनरहरु भेला पारेर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी संस्थापना गरेका थिए ।

चेत कृष्ण श्रेष्ठ र जौ लक्ष्मी श्रेष्ठको कोखबाट विस १९८४ कार्तिक ३० गते मंगलबार जन्मेका राजकृष्ण श्रेष्ठको १९९८ चैत्र १ गते मैयानानी श्रेष्ठसँग विवाह भएको थियो । स्व. राजकृष्ण तीन छोरा महेन्द्र कृष्ण, विनोद कृष्ण र बिक्रम कृष्ण र तीन छोरी थिए । स्व. राज कृष्ण श्रेष्ठका तीन भाइ छोरा मध्ये दुई भाइ महेन्द्र कृष्ण र बिक्रम कृष्ण तथा नाति विजित कृष्ण श्रेष्ठ अहिले पनि हिमालयन जनरल इन्स्योरेन्समा सञ्चालक छन् ।

पुख्र्यौली एनसिई तथा अन्य पेशा व्यवसायमा संलग्न रही आर्थिक रुपमा समेत सम्पन्न महेन्द्र कृष्ण र बिक्रम कृष्ण श्रेष्ठ तथा विजित कृष्ण श्रेष्ठले कम्पनीले मर्जर लैजान विभिन्न चरणमा छलफल गर्दै आएका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा लैजान निकै हतारिएर पार्टनर खोजेको कारणबारे जिज्ञाशा राख्दा सञ्चालक तथा कान्छो छोरा बिक्रम कृष्ण श्रेष्ठले कम्पनी तत्काल मर्जर लैजाने कुनै योजना नभएको सुनाए । उनले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेको कुरा अस्वीकार गर्दै भने, ‘हामीले मर्जरमा जाने भनेर कसैसँग पनि छलफल गरेका छैनौं ।’ सञ्चालक श्रेष्ठले अस्वीकार गरेपनि एक महिना अघि सगरमाथा इन्स्योरेन्स कम्पनीको हलमा भएको छलफलबारे  मिडियाहरुमा छ्यापछ्याप्ती समाचार आइसकेको छ ।

पुर्खाको बिँडो थाम्न र आफ्ना बाबु बाजेको आर्जेको ब्राण्ड, इज्जत प्रतिष्ठाको लागि पनि स्व. राज कृष्ण श्रेष्ठका उत्तराधिकारीहरुले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई मर्जर लैजाने भन्दा पनि परिवर्तित अवस्थामा नेपालको उत्कृष्ट कम्पनी बनाउनेतर्फ सोच्ने हो कि ?

2 thoughts on “हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा लैजान पार्टनर खोज्दै स्व. राज कृष्ण श्रेष्ठका उत्तराधिकारीहरु

  1. Sanu says:

    समाचार होस त यस्तो । सकारात्मक सुझाव सहितको समाचार हो यो । राम्रो ।

  2. मदन श्रेष्ठ, प्यूखा says:

    मलाई अनलाईन भनेको अनावश्यक र झूठा समाचारहरु प्रचार गर्ने थलो जस्तो मात्रै लाग्दथ्यो । तर यो समाचार पढेपछि यस क्षेत्रमा पनि अध्ययन, अनुसन्धान तथा गहिराईसम्म पुगेर खोतल्ने जमर्को हुन लागेको देखेर खुशी लाग्यो । स्व. राज कृष्ण सर धेरै नै बौद्धिक, नेतृत्व क्षमताको धनी तथा सरल स्वाभावको हुनुहुन्थ्यो । न्यूरोडको रञ्जना गल्लीमा मारवाडीहरुलाई नेवारी भाषा सिक्न प्रोत्साहित गर्ने मात्रै नभएर अन्तर जातीय घुलनमा समेत उहाँको योगदान छ । प्रविधियुक्त माइन्ड शायदै नेपालीमा विकास भएको होला । टेलिस्कोपिक ब्रीज उहाँले नेपालमा नभित्राउनु भएको भए आजसम्म पनि सम्भव थिएन होला । उहाँले आफ्नो जीवनमा परिचय छोडेर जानु भयो । उहाँका सन्तानहरुले पुर्खाको पहिचान मास्न खोज्दा त्यसलाई खवरदारी गर्दै समाचार लेखिए छ । यो समाचार उहाँको परिवारको लागि अप्रिय लाग्न छ, तर मृत आत्माको पक्षमा लेखिएको रहेछ । सारै खुशी लाग्यो । उहाँका भावी पुस्ताले राज कृष्ण श्रेष्ठको इतिहास बोकेको संस्था जीवित राख्न सकुन्, हाम्रो शुभकामना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*