बेलौरीका स्थानीयद्धारा पशु र कृषि बीमाका विभेद हाउन माग, बीमा समिति समक्ष तेस्रो पक्ष बीमाको रकम बढाउन आग्रह

२१ भाद्र २०७८, सोमबार १४:२८

धनगढी । बीमा समिति र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न स्थानीय निकायसँग बीमा समितिको जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयबासीले पशु र कृषि बीमा बीचमा रहेको विभेद हटाउन माग गरेका छन् ।

बीमा समितिका उप–निर्देशक विरोध भट्टको विशेष आतिथ्यमा कञ्चनपुरको बेलोरी नगरपालिकाका मेयर पोतिलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनताले बाली बीमा गरेकै दिनदेखि जोखिम बहन हुने भएपनि पशु बीमामा १५ दिनसम्म जोखिम बहन हुने व्यवस्था विभेद भएको भन्दै गुनासो गरेका छन् । स्थानीय किसानहरुले पशु बीमा गर्दा बीमा शुल्क भुक्तानी गरिसकेपछिको १५ दिने प्रतिक्षा समय हटाउन माग गरेका छन् । सो अन्तरक्रिया कार्यक्रममा सहभागी यातायात व्यवसायीहरुले सवारी साधनको तेस्रो पक्ष बीमाको पाँच लाख रकम अपुग भएकोले बीमा समितिले पहल गरेर उक्त रकम बृद्धि गर्न माग गरेका छन् । तेस्रो पक्ष बीमा र यातायातका साधन दुर्घटनाबाट हुने क्षतिको मेल नखाएको समय सापेक्ष बनाउन माग गरेका छन् ।

बीमा समितिका सहायक निर्देशक निश्चलराज बाँनिया, बेलौरी नगरपालिकाकी उपमेयर चित्र कुमारी चौधरी, नगरपालिकाकी अधिकृत सुशिला लेखकको उपस्थितिमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु स्थानीय तहमा सञ्चालित जीवन बीमा तथा निर्जिवन बीमा कम्पनीका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचराी, सहकारी संस्थाका सदस्यहरु तथा पशु तथा कृषि व्यवसायमा संलग्न किसान तथा बीमा समितिका सहायक प्रथम अनुराग पाण्डेयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेयर चौधरीले बीमा समितिसँग पहल गरेर अनिवार्य घर बीमा कार्यक्रम सञ्चालन गर्न आफूहरु तयार रहेको भन्दै त्यसको लागि गृहकार्य गरेर अघि बढ्नुपर्ने बताए । मेयर चौधरीले बेलौरी नगरपालिकाका जनतालाई बीमा गरेर रक्षावरण गरी सुरक्षित बनाउन हर हिसाबले तयार रहेको भन्दै सहकार्य गर्न सबैलाई आह्वान गरेका छन् ।

कार्यक्रमपछि स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीयबासीमा बीमा सम्बन्धी जनचेतना बृद्धि भएको बीमा समितिका उप निर्देशक भट्टले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*