आठ बीमा कम्पनी एक्चुरी भ्यालुएशनको फाईल अन्तिम स्वीकृतिका लागि बीमा समितिमा

५ आश्विन २०७८, मंगलवार १३:२६

काठमाडौं । ८ वटा जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएशन फाइनल गरेर बीमा समितिमा स्वीकृतिका लागि पेश गरेका छन् । बीमा समितिमा ८ कम्पनीलेआर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन बुझाइसकेको कम्पनीहरुले जनाएका छन् । बीमा समितिले नेपाल एक्चुरी नभएकोले विदेशमा पठाएर एक्चुरी भ्यालुएशन जाँच गरी स्वीकृत गर्दा थप समय लाग्ने गरेको छ ।

बीमा समितिमा ज्योति लाइफ, नेपाल लाइफ, एशियन लाइफ, प्राईम लाईफ, रिलायन्स लाइफ, मेट लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी एक्चुरी भ्यालुएसन स्वीकृतिका लािग पेश गरी अन्तिम निर्णयको पखाईमा रहेका छन् । ति आठ वटा कम्पनीहरुको रिपोर्ट अध्ययनको क्रममा रहेको बीमा समितिले जनाएको छ ।

समितिको भारतमा रहेको एक्चुरीले ती कम्पनीको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृत गरेपछि समितिले लाभांश वितरण गर्न अनुमति दिनेछ । वित्तीय विवरणलाई कम्पनी र बीमा समिति दुबैले आ–आफ्नो एक्चुरीसँग भ्यालुएसन गराउँछन् । सम्बन्धित इन्स्योरेन्स कम्पनीकोे एक्चुरीले पठाएको भ्यालुएसन बीमा समितिमा बुझाएपछि कम्पनीले बुझाएको एक्चुरी भ्यालुएसनलाई बीमा समितिले आफ्नो एक्चुरीबाट पुन :मूल्यांकन गराउने गर्दछ ।

बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गरेपछि अहिलेसम्म कुनैपनि बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन् । तर, यो वर्ष सबैभन्दा पहिलो एक्चुरी भ्यालुएसनको स्वीकृति नेपाल लाइफले गराइसकेको छ । दोस्रो भने सूर्या लाइने हुने देखिएको छ । एक्चुरी भ्यालुएसनका आधारमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्छन् ।

एक्चुरी भ्यालुएसनको निकै लामो प्रकृयाको कारण बीमा कम्पनीको बार्षिक साधारणसभा र लगानीकर्ताले लाभांश पाउन ढिलाई हुँदै आएको छ । स्वदेशमा एक्चुरी गर्ने दक्ष जनशक्ति नहुँदा सधैं विदेशीको भर पर्नु परेको कारण ढिलाई भएको हो ।

एक्चुरी भ्यालुएसन भइसकेपछिको वास्तविक वित्तीय विवरण समयमा सार्वजनिक नहुँदा जीवन बिमा कम्पनीका लगानीकर्ताले आफूले पाउन सक्ने वास्तविक प्रतिफलका बारेमा अध्ययन गर्न पाउँदैनन् । बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसन बिनाकै त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका हुन्छन् । तर यसले कम्पनीको वास्तविक अवस्था बताउन सकेको हुँदैन ।

यसबाट इपीएसको वास्तविक जानकारी आउँदैन । यस्तै, कम्पनीको यकिन दायित्व, खुद नाफा, नेटवर्थसहितका अन्य महत्वपूर्ण तथ्यांक पनि सही रुपमा आएको हुँदैन । जसका कारण लगानीकर्ताले सम्बद्ध कम्पनीको पछिल्लो अवस्थाका बारेमा सही जानकारी पाउन सकेका हुँदैन । अनि, कतिपय कम्पनीहरुले पछिल्ला वर्षहरुमा बेस्सरी प्रगति गरेको भए पनि केही सीमित व्यक्तिबाहेक अरुलाई त्यस सम्बन्धमा जानकारी हुँदैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*