इमान्दार कर्मचारी र बीमा अभिकर्ताहरु भटाभट एशियन लाइफ छोड्दै, केन्द्रीय कार्यालयमा राजिनामाको चाङ्

८ आश्विन २०७८, शुक्रबार २१:२६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको कमजोरीका कारण इमान्दार कर्मचारीहरुले भटाभट कम्पनी छोड्न थालेका छन् । बीमा कम्पनीका कर्मचारी मात्रै नभएर अभिकर्ताहरुले समेत सो कम्पनी छोड्न थालेको भन्दै बीमापोष्टमा गुनासो प्राप्त भएको छ ।

केहीसमय अघि बुटवलबाट तीन अर्बको व्यवसाय गुमाएको कम्पनीले यस वर्ष कम्तीमा पनि पाँच अर्बको व्यवसाय गुमाउने अनुमान गरिएको छ । सो कम्पनीका सिईओ दिनेशलाल श्रेष्ठको अत्याधिक पेलानपछि पछिल्लो समय कम्पनी छोड्ने बढिरहेको बताइन्छ । स्रोतका अनुसार सिईओ श्रेष्ठले कम्पनीका मार्केटिङका कर्मचारी तथा शाखा प्रमुखहरुलाई राति छ बजेसम्म काम गर्न उर्दी जारी गरेकोमा कर्मचारीहरुले गुनासो गरेका छन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सम्बद्ध समुहको लगानी रहेको कम्पनी हो । २०६४ साल चैत्र २८ गते नेपालको इतिहासमा पहिलो पटक हुन लागेको संविधानको निर्वाचनको एक साता अघि अर्थात २०६४ चैत्र २१ गतेबाट सञ्चालनमा आएको एशियन लाइफ इन्स्योरेन्स कम्पनी संस्थापनाको १४ वर्षसम्म राम्रै चले पनि पछिल्लो समय व्यवस्थापनको कमजोरीका कारण सर्वसाधारणको अर्बौ रुपैयाँ जोखिममा परेको छ ।

बीमितलाई अधिकतम् लाभ दिने पक्षमा काम गर्नुपर्नेमा बीमा सम्बन्धी राम्रो ज्ञान नभएका दिनेशलाल श्रेष्ठको नेतृत्वमा रहेको कम्पनीको अवस्था दिनदिनै बिग्रन थालेपछि बीमा अभिकर्ताहरु विस्थापित बन्दै जाने बार्षिक पाँच करोडको व्यवसायबाट बार्षिक तीन अर्ब व्यवसाय पुर्याउने कर्मचारीहरुले कम्पनी छोड्दै हिड्ने अवस्था सिर्जना भएको देखिएको छ ।

नियामक निकायलाई प्रभावमा परेर एशियन लाइफ इन्स्योरेन्स कम्पनीभित्र भइरहेको भ्रष्टाचार र अनियमितताको सम्बन्धमा बीमा समितिले हालसम्म आँखा चिम्लदै आएको खुलेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई कर्मचारीहरुको बृत्तिविकास सम्बन्धी योजना ल्याउन निर्देशन दिइरहेका बेला एशियन लाइफ इन्स्योरेन्स कम्पनीभित्र भने कम्पनीमै कार्यरत कर्मचारीहरुको आफन्त, सञ्चालकहरुका आफन्तले भरिभराऊ बन्दै गएका छन् । जसका कारण कम्पनीबाट इमान्दार व्यक्तिहरुले भटाभट छोड्न थालेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*