जीवन बीमा कम्पनी दशैं लक्षित व्यवसायमा केन्द्रीत हुँदै, दक्षिणालाई बीमा शुल्कमा बदल्न अभिकर्ता उत्साहित

९ आश्विन २०७८, शनिबार ०९:५५

काठमाडौं । यस वर्षको राष्ट्रिय पर्व नजिकिँदै छ । अबको १२ दिनपछि घटस्थापना सुरु हुन्छ । दशैं नजिकिँदै गर्दा जीवन बीमा कम्पनीहरु भने दशैं, तिहार र छठ जस्ता राष्ट्रिय पर्वहरुमा संकलन भएको दक्षिणालाई बीमा शुल्कमा बदल्न योजनाका साथ काम अघि बढाएका छन् ।

राष्ट्रिय पर्वहरु छठ, तिहार र दशैं नजिकिँदै गर्दा बीमा अभिकर्ताहरुलाई समेत भ्याई नभ्याई भएको छ । छोरीचेलीहरुले दशैंमा करोडौं रुपैयाँ दक्षिणा प्राप्त गर्ने गर्दछन् । नेपाल राष्ट्र बैंकले दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरेर अर्बौ रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्रिय पर्वमा हुने ठूलो बीमा व्यवसाय आफ्नो पक्षमा पार्न जीवन बीमा कम्पनीहरु सक्रिय भएर जुटेका छन् । दशैंको समयमा हुने बीमा कारोबारको पूर्व तयारी स्वरुप जीवन बीमा कम्पनीहरुले अनलाईन तालिम तथा भौतिक उपस्थितिमा हुने अभिमुखिकरण तालिमहरु भटाभट अघि बढाइरहेका छन् । आज शनिबार अधिकांश जीवन बीमा कम्पनीहरुले भौतिक रुपमा तालिम तथा अनलाईन प्रशिक्षणहरु चलाइरहेका छन् ।

दशैं, तिहार र छठमा ठूलो मात्रामा आर्थिक चहल पहल हुने हुँदा बीमा अभिकर्ताहरु दशैंको तयारीमा जुटेका छन् । डेढ महिनाको बीचमा पर्ने तीन वटा राष्ट्रिय पर्वमा बीमा अभिकर्ताहरुले अर्बौ रुपैयाँको बीमा व्यवसाय बृद्धि हुने हुँदा अभिकर्ताहरुको ध्यान दशैंको व्यवसायमा केन्द्रीत भएको छ ।

दशैं, तिहार र छठ पर्वमा हुने आर्थिक गतिविधिलाई बीमामा बदल्न देशैभरिका अभिकर्ताहरुलाई सक्रिय हुन पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले आह्वान गरेका छन् । अध्यक्ष तिवारीले बीमा अभिकर्ताहरुले दशैं मान्नको लागि समय निकालेर आराम गर्ने समय नभएको बताउँदै दशैं मनाउँदै बीमाको सचेतना फैलाउनुपर्ने अवस्था आएको बताए ।

विश्वभरि फैलिएको कोभिड लगायतका महामारीबाट आम जनतालाई आर्थिक जोखिमबाट मुक्त गर्न ठूलो सानो नभनी आर्थिक हैसियत अनुसार बीमाको दायरामा ल्याउनु पर्ने भएकोले सबै कम्पनीका अभिकर्ताहरु बीमा सचेतना फैलाउन आह्वान गरे । अध्यक्ष तिवारीले बीमा अभिकर्ताहरुलाई आफ्नो आफ्नो क्षेत्रमा जाने, आफन्तहरुसँग भेटघाट गर्ने, दशैं तिहार छठ मनाउँदै बीमा जनसचेतना मनाउने, फजुल खर्च जोगाउन आह्वान गर्ने, बचत गर्न सिकाउने जस्ता कुरामा केन्द्रीय हुन आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*