नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्न बीमक संघको प्रस्ताव

१८ आश्विन २०७८, सोमबार ०९:३६

काठमाडौं । नेपाल बिमक संघले संस्थागत मर्यादा विपरित नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । बीमक संघले केही दिन पहिले कोरोना बीमाको दावी भुक्तानी गर्न भन्दै सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने प्रस्ताव बीमा समिति समक्ष पेश गरेको हो ।

नेपाल पुनर्बीमाका सञ्चालक दीप प्रकाश पाण्डे अध्यक्ष रहेको नेपाल बीमक संघले १० अर्ब रुपैयाँ लगानीको नेपाल पुनर्बीमा कम्पनीमा रहेको सरकारी शेयर स्वामित्व निजि कम्पनीलाई बिक्री गरी कम्पनीलाई निजिकरणमा लैजाने प्रस्ताव लिखित रुपमा पेश गरेको बीमा समितिले पुष्टि गरेको छ ।

बीमा समिति भने नेपाल बीमक संघको प्रस्तावप्रति कुनै प्रतिक्रिया जनाएको छैन । बीमा समितिकै एक उच्च अधिकारीले भने, ‘भोलि अर्को संघले कुनै कम्पनी खारेज गर्ने प्रस्ताव लिएर आउला बीमा समिति टुलुटुलु हेरेर बस्ने ?’ नियामक निकायले आफ्नो दायित्व पूरा गर्न नसक्दा नेपाली बीमा क्षेत्रमा विकृतिहरु मौलाउँदै गएको छ । बीमा समितिका अध्यक्ष सूर्य सिलवाल स्वयम् बीमक संघको पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने अनैतिक प्रस्तावबारे मिडियामा दिएर चर्चा बटुलिरहेका छन् ।

सरकारी लगानीको कम्पनी नै बिक्री गर्ने प्रस्ताव पेश गरेपछि नेपाल बीमक संघमा शेयर माफियाहरुको घुसपैठ भएको हुनसक्ने आंकलन गरिएको छ । नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरुको साझा चासोको विषय र सिंगो बीमा व्यवसायको हितमा संस्थापित निर्जिवन बीमा कम्पनीहरुको छाता संगठनले सरकारी लगानीको निर्जिवन बीमा कम्पनी बिक्री गर्ने प्रस्ताव पेश गरेको सम्बन्धमा अर्थ मन्त्रालयले आश्चर्य व्यक्त गरेको छ । मन्त्रालय स्रोतले भन्यो, ‘ नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने हल्ला खल्ला सुनिएको छ, सामाजिक संस्थाहरुलाई आफ्नो दायित्व सम्झाउनुपर्ने बेला आएको जस्तो देखियो ।’

समुहगत हितका लागि संस्थापित सामाजिक संघ संस्थाले कुनै कम्पनीमा रहेको राज्यको शेयर बिक्री गर्न प्रस्ताव गरेको विषयलाई अर्थमन्त्रालयका अधिकारीहरुले भने अनुचित र गैर व्यावसायिक मानेका छन् ।

उता, केही शेयर माफियाहरुले सोही विषयलाई मुद्दा बनाएर नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा चलखेल गर्ने प्रयत्न गरेका छन् । ठूलो मात्रामा पुनर्बीमा कम्पनीको शेयर खरिद गरेर बसेकाहरु नेप्सेमा आएको गिरावटसँगै शेयर मूल्य घट्न थालेपछि पुनर्बीमा कम्पनीको हकप्रद जारी गर्ने तथा सरकारी लगानीको शेयर बिक्री गर्ने भन्दै शेयर मूल्यमा आउन सक्ने गिरावट रोक्न उद्यत देखिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*