दुई महिनामा सवा दुई प्रतिशतले बढ्यो बीमाको दायरा

३ कार्तिक २०७८, बुधबार १६:१९

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा बीमाको दायरा सवा २ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म बीमाको दायरा बढेर कुल जनसंख्याको २७ दशमलव ५२ प्रतिशत पुगेको छ । उक्त तथ्याङ्क म्यादी बीमा सहितको हो ।

अघिल्लो वर्षको सोहि अवधिमा कुल जनसंख्याको २५ दशमलव १९ प्रतिशतमा सीमित थियो । बीमा समितिले बीमा सचेतनाका कार्यक्रम अगाडि बढाएसँगै बीमा बजार थप व्यापक भएको तथ्याङ्कले देखाएको छ । यद्यपि बीमा कम्पनीहरुको कूल बीमा शूल्क आम्दानी भने घटेको देखिएको छ ।

बीमा समितिले वैदेशिक रोजगार बिमा समेतलाई जोडेर यो तथ्यांक तयार पारेको हो । वैदेशिक रोजगारमा जाने नेपालीले अनिवार्य म्यादी बीमा गर्नुपर्ने प्रावधान आएपछि नेपालको बीमा व्यवसायमा समेत थप राहत पुगेको छ । यसले बीमाको दायरा मात्र नभई बीमा व्यवसायमा समेत सुधार हुन पुगेको छ ।

त्यस्तै, सरकारले तेस्रो पक्ष बीमा गर्नुपर्ने भएपछि निर्जीवन बीमाको व्यवसायको आकार बढेको थियो । वैदेशिक रोजगार बीमालाई अलग राखेर हेर्दा पनि हाल नेपालको बिमा २५ दशमलव ५९ प्रतिशत जनसंख्यामा पुगेको छ ।

चालु आवको पहिलो दुई महिनामा जीवन बिमालेख संख्या १५ दशमलव ८० प्रतिशतले बढेको छ । चालु आवको भदौ महिनासम्म नेपालको सम्पूर्ण बीमा कम्पनीहरुको बीमालेख संख्या ८२ लाख ८ हजार ५ सय २५ पुगेको छ ।
अघिल्लो वर्षको भदौसम्म ७० लाख ८८ हजार ५ सय ७ वटा मात्र बिमालेख जारी भएका थिए । कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै ठप्प हुँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पनि कमी आयो । वैदेशिक रोजगारीमा जाने संख्यामा आएकै कमीको कारण वैदेशिक रोजगार बीमालेख संख्या दुई महिनामा ३० दशलमव ६३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष भदौसम्म ८ लाख ४७ हजार रहेको बीमालेख संख्या भदौ मसान्तसम्म आउँदा ५ लाख ८७ हजार ५ सय वटामा सीमित हुन पुगेको छ।

समग्र वैदेशिक रोजगार बीमासहितको जीवन बीमालेख भदौसम्म १० दशमलव ८४ प्रतिशतले बढेको छ । चालु आवको भदौसम्म जीवन बीमालेख संख्या ८७ लाख ९६ हजार पुगेको छ । यसअघि गत आवको भदौसम्म ७९ लाख ३५ हजार ५ सय ५३ वटा ीमा लेख संख्या रहेको छ।निर्जीवन बीमाको बीमालेख २ महिनामा ७ दशलमव ६६ प्रतिशतले बढेको छ । निर्जीवन बीमाको बिमालेख भदौ मसान्तसम्म ४ लाख ७३ हजार २ सय ६४ वटा पुगेको छ । बीमा कम्पनीहरुले भदौसम्म ३४ अर्ब ५३ करोड ४७ लाख रुपियाँ बीमा शुल्क संकलन गरेका छन् ।

अघिल्लो वर्षको भदौसम्म २५ अर्ब ७३ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका हुन् । कुल बीमा शुल्कमा जीवनमा बीमाको हिस्सा २८ अर्ब १३ करोड ६६ लाख रुपियाँ र निर्जीवन बीमाको हिस्सा ६ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*