नेशनल लाइफको जीवन बीमा कोष ४४ अर्बमाथि, २३ प्रतिशत खुद बीमा शुल्क बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

३० कार्तिक २०७८, मंगलवार १३:४१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड १८ लाख दुई हजार ५१९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २४.९० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष केही घटेको छ भने महाविपत्ति कोषको आकार बढेको छ । समग्र कोषको अवस्था २३ प्रतिशतले बढाउन सफल भएको कम्पनीको तीन वटै कोषमा जम्मा ४६ अर्ब १५ करोड ८९ लाख ४३ हजार ९७५ रुपैयाँ जम्मा गरेको छ ।

पुरानो कम्पनीको रुपमा दीर्घकालिन योजनाको साथ बीमा व्यवसाय गर्दै अघि बढिरहेको कम्पनीले जीवन बीमा व्ववसायको दायरा २३.०१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । वित्तिय विवरण अनुसार सो कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा दुई अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा तीन अर्ब ४४ करोड ८२ लाख ४९ हजार ९३० रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । कम्पनीको खुद दावी भुक्तानी निकै बढेको देखिएको छ । गत आवको समीक्षा अवधीमा ८४ करोड ६९ लाख ३४ हजार ८२६ रुपैयाँ खुद दावी भुक्तानी गरेकोमा चालु आवको पहिलो तीन महिनामा एक अर्ब ३५ करोड ५२ लाख ३० हजार ५२४ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले लगानी, कर्जा तथा बीमा पोलिसी धितोमा कर्जा लगायतबाट गरेको आम्दानी १८.१६ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष ९१ करोड ७९ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा एक अर्ब आठ करोड ४६ लाख ७५ हजार ९७३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च २६.२५ प्रतिशतले बृद्धि गरेको छ । गत आवको तीन महिनामा २२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा २७ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्तालाई दिने कमिशन गत आवको तुलनामा चालु आवमा २७.४३ प्रतिशतले बढेको पाइएको छ । गत आवको पहिलो तीन महिनामा २९ करोड ८० लाख रुपैयाँ अभिकर्तालाई कमिशन वितरण गरेको कम्पनीले चालु आवको तीन महिनामा ३७ करोड ९७ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको खुद नाफा फ्युचर बोनसका कारण प्रभावित भएको छ । चालु आवको तीन महिनामा कम्पनीले फ्युचर बोनसको लागि २० प्रतिशत प्रोभिजन गरेकोले खुद नाफामा ९८ प्रतिशतले गिरावट आएको देखिएको छ । गत वर्ष आठ करोड ११ लाख मुनाफा गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८६ रुपैयाँ मात्रै मुनाफा गरेको छ ।

कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी केही बढेको छ । गत आवमा आठ लाख ८२ हजार ७२६ वटा पोलिसी रहेकोमा चालु आवको तीन महिनामा नौ लाख ७० हजार ४९४ वटा पोलिसी कायम रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.२३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३६.८९ रुपैयाँ, पिई अनुपात ९४.० र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १५५९.१५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*