प्राइम लाइफको जीवन बीमा कोष १५ अर्बमाथि, खुद नाफा बढ्दा अन्य सूचांक कस्तो ?

१ मंसिर २०७८, बुधबार १०:०४

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा १५ अर्बभन्दा बढि सचिती गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २७.०८ प्रतिशतले बृद्धि गरी १५ अर्ब ७२ करोड ४६ लाख ८२ हजार रुपैयाँ पुर्याउन सफल भएको हो ।

कम्पनीको जगेडा कोष केही घटेको छ भने महाविपत्ति कोष २४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको समग्र कोषको आकार १६ अर्ब ६९ करोड ५० लाख २६ हजार रुपैयाँ पुगेको छ ।

प्राईम लाइफको खुद बीमा शुल्क आम्दानी १० प्रतिशतले बृद्धि भएको छ । गत आवमा जम्मा एक अर्र्ब छ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिनामा एक अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको चालु आवको तीन महिनामा खुद दावी भुक्तानी भने ४.४४ प्रतिशतले बढेर २५ करोड ४६ लाख पुगेको छ । कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोमा प्रवाह भएको कर्जाबाट प्राप्त आम्दानी बृद्धि भएको छ । गत आवको तीन महिनामा ३७ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिनामा ४२ करोड ७१ लाख रुपैयाँ त्यस्तो आम्दानी आर्जन गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च ११.६८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १३ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा १४ करोड ७१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीले अभिकर्तालाई दिने कमिशनमा भने घटेको छ । बीमा व्यवसाय १० प्रतिशतले बृद्धि हुँदा पनि अभिकर्ताले बुझेको कमिशन घटेको हो । गत आवमा १२ करोड २८ लाख कमिशन बापत वितरण गरेको कम्पनीले चालु आवको तीन महिनामा ११ करोड ३० लाखमा सीमित हुन पुगेको छ ।

कम्पनीको मुनाफा १.४९ प्रतिशतले बृद्धि भई १२ करोड २५ लाख पुगेको छ । गत आवको तीन महिनामा कम्पनीले जम्मा १२ करोड सात लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या घटेको छ । गत आवमा दुई लाख ७४ हजार १९७ वटा बीमा पोलिसी रहेकोमा चालु आवको समीक्षा अवधीमा दुई लाख दुई हजार ६१६ वटा पोलिसी कायम रहेको तथ्याङ्कमा देखिएको छ ।

कम्पनीले प्रतिशेयर आम्दानी २०.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.३१, प्रतिशेयर नेटवर्थ १४०.१५ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ८३५.४९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*