दुई अमेरिकी मन्त्रीले काठमाडौं उद्घाटन गरे अमेरिकन चेम्बर अफ कमर्श, मेट लाइफका सिईओ श्रेष्ठ बने सदस्य

३ मंसिर २०७८, शुक्रबार २२:०२

काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी लगानीका उद्योगीहरुलाई समेटेर आज अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको छ । अमेरिकी सरकारकै पहलमा नेपालमा उद्यमी व्यवसायीहरुलाई एउटै छाता मुनी ल्याएर संगठित गरिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफलाई समेत समेटेर अमेरिकी सरकारकै पहलमा अमेरिकन चेम्बर अफ कमर्श गठन गरिएको हो । सो संस्थाको आज एक समारोहका बीच दुई अमेरिकी मन्त्रीले काठमाडौंमा उद्घाटन गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र उप सहायक विदेशी मन्त्री केली किडरलिङको उपस्थितिमा आज काठमाडौंमा अमेरिकी चेम्बर अफ कमर्श औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

काठमाडौंस्थित अमेरिकी दुताबासकै सहयोगमा अमेरिकी लगानीमा सञ्चालित उद्यमीहरुलाई समेटेर अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको हो । आज आयोजित कार्यक्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले गरिबी घटाउन निजि क्षेत्रको भूमिका रहने भएकोले अमेरिकी चेम्बर अफ कमर्शले त्यसमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै उप सहायक विदेशमन्त्री किडरलिङले अमेरिकी उद्योगहरु महिला सशक्तिकरणमा समेत भूमिका खेल्ने विश्वास व्यक्त गरेको आज आयोजित पहिलो बैठकमा सहभागी एक सदस्यले बताए ।

अमेरिकी चेम्बर अफ कमर्शको संक्षिप्त नाम एमछम राखिएको छ । एमछमको शाखा विश्वभर फैलिएको र यसमा अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधि रहने दूतावासले जनाएको छ । आज सार्वजनिक गरिएको एमछमको कार्यसमिति १३ सदस्यीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले लोटस होल्डिङ्सका अध्यक्ष अजित शाहको अध्यक्षतामा १३ सदस्यी कार्य समिति गठन गरिएको छ । कार्य समितिको महत्वपूर्ण जिम्मेवारीमा मेट लाइफ नामक अमेरिकी कम्पनीको नेपाल स्थित शाखा कार्यालय मेट लाइफ नेपालका सिईओ निर्मलकाजी श्रेष्ठ समेत छन् । अन्य कम्पनीहरु आंशिक रुपमा अमेरिकी लगानी भएपनि मेट लाइफ भने शतप्रतिशत अमेरिकी लगानीमा सञ्चालित कम्पनी हो ।

अमेरिकी चेम्बर अफ कमर्शमा गोल्छा अर्गनाइजेशनका दुई जना सदस्य सहभागी छन् । जनरल मोटर्र्सले उत्पादन गर्ने फोर्ड गाडीको आधिकारिक बिक्रेता आकाश गोल्छा, कम्प्लिएन्स क्वेस्टका अतुल्य रिसाल, लिपफ्रग टेक्नोलोजीका कैलाश बायनन्द, हायात रिजेन्सी होटलका लगानीकर्ता जयदिन श्रेष्ठ, फ्रस्ट एन्ड सुलिभानका सञ्चालक मंगेशलाल श्रेष्ठ, क्याटरपिल डिष्ट्रिब्युटरका अस्कर बतास, पठाओ राइड सेयरिङका असिममान सिंह बस्न्यात, डेल डिष्ट्रिब्युटरका संजय गोल्छा, कारखानाका साकार पुडासैनी र लेगल एड्भाइजरका सीमान्त दाहाल सदस्य रहेका छन् । उनीहरुले अमेरिकी लगानीका परियोजनाहरुलाई सहयोग गर्ने जनाइएको छ । स्रोतका अनुसार अमेरिकाले नेपालमा सञ्चालन गर्न लागेको इण्डोप्यासिफिक रणनीति अन्तर्गतको एमसीसी परियोजनाको लागि वातावरण बनाउने काम उनीहरुले गर्नेछन् ।

नेपालमा अमेरिकी चेम्बर अफ कमर्श नै गठन भएपछि अमेरिकी लगानी बृद्धि हुने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*