एक्चुरीको अभावमा बीमा क्षेत्र प्रभावित, पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रको जीवन बीमाको व्यवसाय भित्राउन सकेन

४ मंसिर २०७८, शनिबार १८:३१

काठमाडौं । नेपाली बजारमा एक्चुरी भ्यालुएटरको अभाव हुँदा सिंगो बीमा क्षेत्रले समस्या भोगिरहेको छ । बीमाङ्की मूल्याङ्कनकर्ता नहुँदा नेपालमा सञ्चालित ४१ वटै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन प्रभावित हुँदै आएको छ । बीमा कम्पनीहरुले समयमा वित्तिय विवरण तयार पार्न सकेका छैनन् भने साधारणसभा समेतमा ढिलाई हुँदै आएको छ ।

यसैबीच, नेपाल पुनर्बीमा कम्पनीले एक्चुरीको अभावकै कारण अन्तर्राष्ट्रिय बजारमा जीवन बीमाको व्यवसाय लिन नसकेको जानकारी आज आयोजित अन्तरक्रिया कार्यक्रममा दिइएको छ । कम्पनीले आज पत्रकारहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीले अन्तराष्ट्रिय बजारबाट जीवन बीमाको व्यवसाय गर्न नपाएको कम्पनीका पुनर्बीमा विज्ञ विष्णु उपाध्यले बताएका छन् ।
बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्न नसक्दा लगानीकर्ताबाट विश्वास गुमाउने, वित्तीय विवरण सार्वजनिकमा ढिलाई हुने, वित्तिय विरणमा झन्झटीले प्रकृयाहरुको समस्या अझै पनि झेल्दै आईरहेका छन् । स्वदेशमा एक्चुरी नभएकै कारण गत आव २०७६।०७७ कै साधारणसभा गर्न धेरै कम्पनीहरुको बाँकी छ ।

नेपाली जीवन बीमा कमपनीहरुले स्वदेशकै एक्चुरी भ्यालुएसन समस्यमा गराँउन नसक्दा बाहिरबाट व्यवसाय भित्रयाउनु निकै जोखिमपूर्ण रहेको कारण निर्जिवन बीमा व्यवसाय मात्र अन्तराष्ट्रिय बजारबाट भित्रयाएको पुनर्बीमा विज्ञ विष्णु उपाध्यले बताए । उनले जीवन बीमाको व्यवसाय गर्न एक्चुरी अभाव रहेको र कम्पनीले एक्चुरी हायर गर्न समेत विविध कठिन रहेको बताए ।

विश्वकै उत्कृष्ट आम्दानी हुने एक्चुरीयल भ्यालुएशन गर्ने व्यक्ति नेपालमा एक जना पनि नहुँदा वर्षेनी करोडौ रुपैयाँ विदेशिने गरेको छ । नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशीमा भर पर्नु परेको कारण समय र आर्थिक रुपमा ठूलो रकम खर्च हुँदै आएको छ।

केही नेपालीले एक्चुरी उपाधि हासिल गरेका भए पनि उनीहरु नेपालमा छैनन् । नेपाल पुनर्बीमा कम्पनीमा एक्चुरी हायर गर्न मासिक लाखौ रुपैयाँ तलव दिनु पर्ने र सो तलव दिन लोकसेवा आयोग लगायतले अनुमति नदिने कारण समस्या पर्दै आएको छ । जीवन बीमाको वीमाङ्कीय मूल्यांकनका लागि एक्चुरीको आवश्यक पर्छ । त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुको लागि एक्चुरी भ्यालुएशन (ल्याट) गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका सिईओ बीमा कम्पनीहरुले गर्ने व्यवसायको २० प्रतिशत व्यवसायको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने प्रावधान भएपनि कम्पनीको वास्तविक नाफा भने पाँच प्रतिशत मात्र रहने उनले बताए ।

यो नाफाबाट पुनर्बीमा कम्पनीले भुकम्प तथा कोभिड महामारीका समयका साथै नेपालमा सञ्चालित जलविद्युत आयोजनाहरुको बीमा ठूलो योगदान रहेको उनले बताए । भुकम्पको समयमा प्रतिबीमक ७ करोड रुपैयाँ र कोभिड महामारीको समयमा कम्पनीले १ अर्ब २० करोड रुपैयाँ भुक्तानी गर्न सफल भएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले बीमा क्षेत्रमा हुने नक्कली दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी पुनर्बीमा कम्पनीकै डेपुटी सिईओ दामोदर भण्डारीले वित्तीय अवस्था र प्रडक्टहरुको बारेमा संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए भने कम्पनीका विज्ञ विष्णु उपाध्यायले पुनर्बीमाको प्राविधिक पक्ष समेटेर संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष घिमिरेले बीमा क्षेत्रमा पत्रकारिता गर्दै आएकाहरुका लागि बीमा सम्बन्धी सचेतना थप जरुरी भएको बताउँदै आगामी दिनमा निरन्तर सहकार्य गर्दै अघि बढ्ने बताए । साथै उनले नक्कली बीमा दावी भुक्तानी आर्थिक रुपमा अपराध, सामाजिक रुपमा भ्रष्टाचार भएकोले पत्रकारहरुले गहिराईसम्म पुगेर यथार्थ बाहिर ल्याउनु आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*