मेटलाइफको प्रथम त्रैमास उत्साहप्रद, जीवन बीमा कोषमा १९ अर्ब, बीमा शुल्क आम्दानीमा ११ प्रतिशतले बृद्धि

५ मंसिर २०७८, आईतवार १४:०४

काठमाडौं । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार मुनाफा बाहेकका सबै सूचांकमा प्रगति देखिएको छ । मुनाफा २० प्रतिशत प्रोभिजन गर्नु परेका कारण घटेको हो ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोष ७.५९ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा जम्मा १८ अर्ब ३५ रुपैयाँ संचिती रहेको मेट लाइफमा चालु आवको समीक्षा अवधीमा १९ अर्ब ७४ करोड पुगेको छ । कम्पनीको जगेडा कोष ९ प्रतिशतले र महाविपत्ति कोष ११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको आकार २२ अर्ब ७६ करोड नाघेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ११.५४ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा एक अर्ब १६ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिने अवधीमा एक अर्ब ३० करोड भन्दा बढि खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीले कर्जा, लगानी तथा बीमालेख धितोमा प्राप्त हुने आम्दानीमा ८.६६ प्रतिशतले बृद्धि गरेको छ । गत आवमा जम्मा ८८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको तीन महिनामा एक अर्ब पाँच करोड भन्दा बढि आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । गत आवको तीन महिनामा १० करोड ६५ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १३ करोड भन्दा बढि रकम व्यवस्थापनमा खर्च गरेको छ । कम्पनीको अभिकर्ता कमिशन ८.२६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ११ करोड ५५ लाख रुपैयाँ वितरण गरेको कम्पनीले चालु आवको तीन महिनामा १२ करोड ५१ लाख १७ हजार रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको खुद नाफा १०.५८ प्रतिशतले घटेको छ । गत आवमा सात करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा चालु आवको तीन महिनामा छ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालसम्म कायम बीमा पोलिसीको संख्या ११.४० प्रतिशतले बृद्धि भएको छ । गत आवमा १० लाख ९४ हजार ८४५ वटा बीमा पोलिसी कायम रहेको कम्पनीमा चालु आवको तीन महिना सम्ममा १२ लाख १९ हजार ६४९ वटा पोलिसी कायम रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*