लघुबीमाको विकासको लागि मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको सुरुवात

लघुवित्तका ऋणीहरूलाई दावी भुक्तानी छिटो शुनिश्चित गर्ने प्रणाली
१३ मंसिर २०७८, सोमबार १७:०६

काठमाडौं । मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ ।नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । साथै वहाँले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताएका छन् । लघुबीमा मार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेटलाइफ सन् २००९ मा लघवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो ।

कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ । ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरि निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन ।

मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरि नेपालमा लघुविमा योजना शुरु गरेको थियो । तत्पश्चात मेटलाइफले यसको नियमित समिक्षा गरि प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ ।
मेटलाइफले हाल चौबिस लघुवित्त संस्थाहरूसँग साझेदार गरि आठ लाख ऋणीहरूको बीमा गरेको छ । हालसम्म कम्पनीले करिब चौबिस हजार दावीहरू वापत एक अर्ब तीस करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*