नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न पाँच जनाको आवेदन, शिखरका पाण्डे र एनएलजीका पन्तको सम्भावना बलियो

१८ पुष २०७८, आईतवार १०:१६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको यही पुस २२ गते हुने साधारणसभामार्फत सञ्चालक बन्नको लागि बीमा क्षेत्रबाट पाँच जनाले आवेदन दिएका छन् ।

वर्तमान सञ्चालक तथा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त, सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट बीरेन्द्र वैदवार क्षेत्री, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हेमन्त नाहाटा र युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलले उम्मदवारी दिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार पाँच जना मध्ये दुई जना सञ्चालक बन्नेछन् । बीमा क्षेत्रमा सक्रियताको आधारमा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त सञ्चालक बन्ने सम्भावना रहेको बीमा क्षेत्रमा चर्चा छ । शिखरका सिईओ पाण्डे र एनएलजीका पन्तले यसै वर्ष मात्रै नेपाल सरकारले बीमा क्षेत्रमा योगदान पुर्याएबापत प्रवल जनसेवा श्रीबाट सुशोभन गर्ने निर्णय भएका व्यक्तिहरु हुन् । पन्तलाई अन्य बीमा कम्पनीहरुको राम्रो साथ भएकोले यस पटक नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न लागेका हुन् ।

युनाईटेड इन्स्योरेन्स सिईओ उपासनालाई नेपाल पुनर्बीमा कम्पनीले महिला सञ्चालक बनाउने प्रयत्न स्वरुप आवेदन दिन लगाएको बुझिएको छ । बीमा क्षेत्रमा भर्खरै प्रवेश गरेकोले उनलाई सञ्चालक बनाउन नहुने बरु अनुभवी मानिसको खाँचो नेपाल पुनर्बीमा कम्पनीमा रहेकोले पनि पाण्डे र पन्तको सम्भावना बलियो बनेको चर्चा बीमा क्षेत्रमा चलेको छ । विशाल ग्रुपका उम्मेदवार नाहाटा समेत बलियो दावेदार हुन् ।

उता, विशाल ग्रुप नामक एउटा समुहले बीमा कम्पनीको सञ्चालकलाई नै नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बनाउन लागेको छ । विशाल ग्रुपले गलत अभ्यास गरेको भन्दै बीमा क्षेत्रमा आलोचना भइरहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसहितका विशाल ग्रुपको लगानी रहेका बीमा कम्पनीहरुले नाहाटालाई भोट हाल्ने बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*