नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

२२ पुष २०७८, बिहीबार १४:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको हालको चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश पारित गरेको छ । साथै १० अर्ब चुक्तापूँँजीबाट बृद्धि गरी ११ अर्ब ६५ करोड चुक्तापूँजी पुर्याउने विषयलाई संशोधन गरेको छ ।

त्यस्तै, संचालक समितिको बैठक भत्ता लगायतका सुविधामा बृद्धि गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र।नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता विशेष प्रस्तावहरुलाई अनुमोदन गरी पारित गरेको छ ।

त्यस्तै, सोही सभाले आव २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी २०७७ असार मसान्तसम्मको वासलात, आव २०७६।०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेको थियो । जसअनुसार पुष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*