नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि बृद्धि गर्न शेयरधनीको माग, विश्वस्तरीय कम्पनीले बनाउने अध्यक्ष डा. घिमिरेको प्रतिबद्धता

२३ पुष २०७८, शुक्रबार १३:५६

काठमाडौं । पुनर्बीमा कम्पनीको साधारणसभामा शेयरधनीहरुले चुक्ता पुँजी वृद्धि गनुपर्ने कुरामा जोड दिएका छन् । अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गरेर काम गरिरहदा अबको दिनमा चुक्ता पुँजी वृद्धि गनु अपरिहार्य रहेको धारणा सहभागी शेयरधनीहरुले बार्षिक साधारणसभामा व्यक्त गरेका थिए ।

सभामा वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले कम्पनी विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै अघि बढ्ने र अधिकृत तथा जारी एवं चुक्ता पूँजी वृद्वि गर्दै लगिने प्रतिबद्धता जनाएका छन् ।

हिजो सम्पन्न भएको साधारणसभामा सञ्चालक समितिको बैठक भन्दा बढि कर्मचारी भर्नाको लागि पदपूर्ति उपसमिति अन्तर्गतको सञ्चालक समितिको बैठक धेरै किन बसेको हो ? भनेर प्रश्न उठाएका छन् । मुख्य बैठक भन्दा अन्य बैठक तथा भक्ता किन धेरै भएको भन्दै शेयरधनीले प्रश्न उठाएका हुन् ।

आर्थिक बर्ष २०७६/७७ मा बढ्दो बीमा व्यवसाय, जोखिम भार तथा तरलताको आवश्यकतालाई मध्यनजर गरी तथा अन्तर्राष्ट्रिय बीमा बजारमा समेत यस कम्पनीलाई प्रतिस्पर्धी बनाउन आवश्यक क्षमता वृद्धि गर्ने अभिप्रायले कम्पनीको अधिकृत तथा जारी एवं चुक्ता पूँजी वृद्वि गर्दै लगिने कम्पनीका अध्यक्ष डा. घिमिरेले प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक जना शेयरधनीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरमा सूचीकरण गरी कम्पनीको विश्वासनीयताको स्तर (क्रेडिट रेटिङ) निर्धारण गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ । प्रचलित बीमा ऐन तथा बीमा नियमावली एवम् बीमा समितिबाट प्राप्त निर्देशन र अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरूप कम्पनीको क्षमतामा अभिवृद्धि गर्दै कम्पनीलाई अझै सक्षम र सबल बनाइने प्रतिवद्धता अध्यक्ष डा. घिमिरेले व्यक्त गरेका छन् ।आ.व. २०७२/७३ देखि जीवन तथा निर्जीवन दुवै प्रकारको पूर्ण रूपमा पुनर्बीमा व्यवसाय गरेको कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त पुनर्वीमकहरूसँग समेत व्यवसायिक सम्बन्ध स्थापित गर्दै आफ्नो पुनर्बीमा व्यवस्थापन कार्यलाई थप सुदृढ र प्रतिस्पर्धी बनाएको प्रतिबद्धता व्यवस्थापनको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गरेका थिए ।

कम्पनीले हाल १७ वटा देशको ३० वटा कम्पनीसँग व्यबसायिक कारोबार गरिरहेको छ । कम्पनीले नाइजेरिया, बहराइन, बंगलादेश, भुटान, कम्बोडिया, युएई, भारत, कुवेत, माल्दिभ्स, फिलिपिन्स, साउदी, भियतनाम, यमन, रसिया, केन्या, पपुवा न्यु गिनी, र सिरालियोनका बीमक तथा पुनर्बीमकहरूको पुनर्बीमा स्वीकार गरी बीमाशुल्क आर्जन गर्दै आफ्नो सेवालाई अन्तर्राष्ट्रियकरण गरेको छ ।

अन्तर्राष्ट्रिय बीमक तथा पुनर्बीमकहरूका पुनर्बीमा व्यवसायमा पुनर्बीमा व्यवसाय सामान्यतया कम जोखिमयुक्त हुने हुँदा कम्पनीले बजारिकरण गर्दै आएको छ र बढी देशहरूवाट नाफामूलक व्यवसाय प्राप्त गर्ने रणनीति लिएको छ । पुनर्बीमा व्यवसाय अपेक्षाकृत रूपमा जोखिमयुक्त हुने हुँदा हाललाई कम्पनीवाट उक्त व्यवसाय स्वीकार नगरिएको जानकारी कम्पनीले साधारणसभामा जनाएको छ ।

कम्पनीले समीक्षा वर्षमा भारतीय बीमा तथा पुनर्बीमा कम्पनीको पुनर्बीमा व्यवसाय गर्ने कानुनी इजाजत भारतीय बीमा नियमन तथा बिकास प्राधिकरणबाट प्राप्त भइसकेको हुँदा आगामी दिनहरूमा भारतीय बजारमा व्यवसाय बढ्ने जनाएको छ । आगामी दिनमा कम्पनीले नयाँ बजारको खोजी गर्ने र जोखिमलाई आवश्यकतानुसार व्यवस्थापन गर्दै जाने उल्लेख गरेको छ ।

कम्पनीले भनेको छ ‘कम्पनीको व्यवसायिक सम्बन्ध स्वदेश तथा विदेशमा विस्तार हुँदै गएको छ । समीक्षा अवधिमा १७ अन्य देशका ३० कम्पनीहरूसँग सम्बन्ध स्थापित गरिएकोमा आगामी दिनमा अझ बढी बीमा तथा पुनर्बीमा कम्पनीहरूसँग व्यवसायिक सम्बन्ध राखिनेछ । दीगो अन्तर्राष्ट्रिय सम्बन्धका लागि विश्व बिख्यात पुनर्बीमकहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गरिनेछ जसद्वारा कम्पनीमा कार्यरत कर्मचारीहरूको सीप, प्रविधि र ज्ञानमा अभिवृद्धि हुनेछ । विश्वस्तरीय पुनर्बीमा सेवा मार्फत मुनाफा आर्जन मात्र नभई राष्ट्रिय पहिचानलाई विश्वव्यापीकरण गर्न समेत सफल हुने निश्चित छ ।’

कम्पनीको साख अभिबृद्धि गर्न स्तर निर्धारण गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सफट्वेयर कार्यान्वयनमा ल्याउन गृहकार्य भइरहेको कम्पनीले साधारणसभामा जानकारी गराएको छ । कम्पनीको आफ्नै भवन निर्माणको लागि तत्कालै काम शुरु गरिने जानकारी गराएको छ ।

औद्योगिक सम्बन्धलाई सुमधुर बनाउनका लागि कर्मचारीहरूको सीप, क्षमता र ज्ञान अभिबृद्धिका लागि स्वदेश तथा विदेशमा आवश्यक तालीम तथा गोष्ठीहरूमा सहभागी गराइने कम्पनीले जनाएको छ । कर्मचारीहरूको आत्मबल बढाउनका लागि र कम्पनीमा टिकाइराख्नका लागि आवश्यक नीति अबलम्बन गरिने पनि कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*