बीमा समितिभित्रको घोटालामा आँखा चिम्लदै अख्तियार, प्रमुख आयुक्त राई लोकमान पथमा !

२५ पुष २०७८, आईतवार ०७:३४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की बेला बेला नेपाल आएपनि खासै बस्दैनन् । देशको सर्वोच्च संस्था संसदीय समितिलाई अटेर गर्ने, विभिन्न भ्रष्टाचार काण्डहरुमा अख्तियार आफैले सेटिङ मिलाउने र कतिपय जग्गाहरु दर्ता गर्न लिखित निर्देशन दिने जस्ता कार्यका कारण सिंगो अख्तियार बद्नाम भयो । त्यसपछिका प्रमुख आयुक्त दीप बस्नेत अहिलेसम्म पनि भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको रुपमा प्रेम राई छन् । संसदीय सुनुवाई नगरी झ्यालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेका राई पनि लोकमान सिंह कार्कीकै शैलीमा भ्रष्टाचार सम्बद्ध निकायहरुमा सेटिङ गरेको आरोप लाग्न थालेको छ । उनी पनि लोकमाान नै बन्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

बीमा समितिमा विगत एक वर्षदेखि हुँदै आएको भ्रष्टाचार र कीर्तेका सम्बन्धमा प्रेम राई प्रमुख आयुक्त भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झण्डै एक दर्जन उजुरी परेको छ । तर, आयोग सधैं मौन मात्रै होइन, बीमा समितिका अध्यक्ष प्रसाद सिलवाललाई निर्धक्क काम कारवाही अघि बढाउन हौसला प्रदान गर्दै आइरहेकोेछ । लामो समयसम्म गृहमन्त्रालयका काम गरेका राई तुलनात्मक रुपमा सोझा र इमान्दार मानिन्छन् । तर, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायमा प्रमुखका रुपमा नियुक्ती लिई काम गर्न थालेपछि उनको कााम कारवाही निकै सुस्त भएको गुनासो अन्यत्र पनि सुनिएको छ ।

बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाईसेन्स दिनु अघि नै एक दैनिक पत्रिकामा सूचना चुहिएको थियो । सो अनुसार निगरानी बढाउनु पर्नेमा त्यसो गर्न सकेन । बीमा समितिले गत असारमा पुनर्बीमा लाईसेन्स वितरण गरेपछि कांग्रेस, माओवादी र नेकपा समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठनहरुले नारा जुलुससहित अख्यिारको गेटमा पुगेर उजुरी दर्ता गराए । तर आयोगले सुने नसुने झै गरिरहेको छ । सो सम्बन्धमा अन्य थुप्रै उजुरी परेको भएपनि कुनै सुनुवाई भएको छैन ।

त्यति मात्रै नभई बीमा समितिमा २०७८ मंसिर २२ गते सञ्चालक समितिको माईन्यूटमा कीर्ते गरिएको भन्ने व्यहोरोका अर्को तथ्य प्रमाणसहितको उजुरी पर्यो उक्त उजुरी उपर समेत आयोगले कुनै कारवाही गरेन । उल्टो बीमा समितिलाई निरन्तर अनियमित काम गर्न हौसला प्रदान गर्दै आइरहेको छ ।

केही विषयमा आयोगले अर्थमन्त्रालयमार्फत जवाफ माग गरेर कारवाही गर्न खोजेको जस्तो देखाएर अपराधलाई प्रोत्साहित गर्ने गरी आयोगको केन्द्रीय कार्यालयबाट टेलिफोन गरी केही कागजातको फोटो कपि तथा आवश्यक कागजात मिलाएर ल्याउन निर्देशन दिइएको बीमा समिति स्रोतले जनाएको छ ।

आयोगको यस्तो कार्यले बीमा समितिमा माफिया र भ्रष्टाचारीको सेटिङमा काम गर्दै आएकाहरुको मनोबल झनै बढेको छ । आयोगले तथ्य प्रमाणसहित सञ्चालक समितिको माईन्यूट कीर्ते गरिएको, सञ्चालकहरुले हस्ताक्षर नगरेको तथा माईन्यूटमा पछि थप गरिएको सम्बन्धमा लिखित रुपमा परेको उजुरीमाथि आयोगले कुनै चासो दिएको छैन ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई तीन अर्बभन्दा बढि घुस सेटिङमा बीमा समितिले अबैधानिक तरिकाले पुनर्बीमाको लाईसेन्स दिएको उजुरी अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा अलपत्र छ भने गत मंसिर २२ गते दर्ता भएको एक उजुरीमा मंसिर ६ गते बसेको बीमा समितिको सञ्चालक समितिको बैठकमा अध्यक्षले सूर्य प्रसाद सिलवालले कीर्ते गरी हिमलायन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बभन्दा बढिको व्यवसाय सुनिश्चित गरिदिएको भन्ने अर्को उजुरी पनि आयोगमा अलपत्र छ ।

भ्रष्टाचार सम्बद्ध संवैधानिक निकायभित्र हुने सेटिङका कारण पनि देशमा भ्रष्टाचार र अनियमितता बढिरहेको ट्रान्सपरेन्सी लगायतका भ्रष्टाचारविरुद्धका अन्तर्राष्ट्रिय अभियानहरुले औल्याउँदै आएका छन् । कानुनमा दण्डनीय तथा गर्नै नहुने भनेर तोकिएका कामहरु सार्वजनिक निकाय दिन दहाडै हुने अनि भ्रष्टाचार सम्बद्ध निकायमा दर्जनौं उजुरी पर्दा समेत मौन रहने प्रवृत्तिले आगामी दिनमा भ्रष्टाचारले थप प्रश्रय पाउने र भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायको गरिमा, आस्था तथा विश्वास घट्नेतर्फ अलिकति सोच्ने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*