महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा भोलि बस्दै
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा भोलि (माघ ३ गते) बस्दैछ । पुस २५ गतेका लागि बोलाएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरेको थियो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गर्नेछ । यस वर्ष बैंकले यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि कार्य सूचिमा राखेको छ । यी प्रस्तावसँगै बैंकले सञ्चालक समितिको बैठक भत्ता, दैनिक भ्रमण भत्ता लगाएतका अन्य सुविधालाई बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
कम्पनीका शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल ६ जना सञ्चालक निर्वाचनको कार्याक्रम उच्च अदालत पाटनमा निवेदन दिएको हुदाँ अदालतको अन्तरिम आदेशलाइ पालना गर्ने निर्वाचन कार्यक्रम भने स्थगित गरेको छ । उक्त निवेदन उपर माघ ३ गते पेशी तोकिएकाले सो अवधिसम्म निर्वाचनको बाँकी काम कारवाही नगर्ने निर्णय कम्पनीले गरेको हो ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।