एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

३ माघ २०७८, सोमबार ०९:००

 

एभरेष्ट बैंकले आजदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले बिक्री गर्ने ८ वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८।५० प्रतिशत ब्याजदर पाउनेछन् । उक्त ऋणपत्रमा खरिदका लागि छिटोमा माघ ६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्रका इकाई बिक्रीका लागि माग परेको खण्डमा भने माघ १७ गतेसम्म निष्काशन अवधि तोकिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका सेयर खरीका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित जनाउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*