नेशनल लाइफलाई फ्युचर बोनसले प्रभाव पारेन, प्रोभिजन ४० प्रतिशत, बीमितले पाउने बोनसदर स्थीर

३ माघ २०७८, सोमबार १२:२९

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई प्रभावकारी बनाउन यस वर्षदेखि लागू गरेको फ्युचर बोनसका लागि अनिवार्य प्रोभिजन सम्बन्धी व्यवस्थाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई खासै असर पारेन ।

गत वर्ष न्यूनतम ६३ देखि ८५ रुपैयाँसम्म प्रति हजार प्रति वर्षको बोनस रेट सार्वजनिक गरेको कम्पनीले यस वर्ष पनि न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ ।

६३ रुपैयाँ अग्रिम भुक्तानी जीवन बीमालेखको न्यूनतम भएपनि सावधिक जीवन बीमाको ६४ रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँ न्यूनतम बोनस रहेको छ । जीवन बीमा व्यवसायमा दीर्घकालिन सोच, योजना र रणनीति बनाएर काम गर्दै आएको कम्पनीले फ्युचर बोनसकै कारण प्रोभिजनिङ गर्नु परेका कारण कम्पनीको बोनसमा खासै असर पर्न नदिने जनाएको छ ।

नियामक निकाय बीमा समितिले यस पटक कम्तीमा २० प्रतिशत फ्युचर बोनसको लागि प्रोभिजन गर्नुपर्ने व्यवस्था लागू गरेको छ । यस्तो व्यवस्थापले पहिले नै फ्युचर बोनसका लागि प्रोभिजन गर्दै आएकाहरु सजिलोमा परेका छन भने हालसम्म गर्दै नगरेका कम्पनीहरुको बोनसदर घट्ने तथा लाभांश प्रभावित हुनेछ ।

कम्पनीले हिजो सार्वजनिक गरेको बोनस दरमा पूर्ववत रुपमा जारी बोनस दर नै सार्वजनिक गरेपछि देशैभरिका बीमा अभिकर्ता तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च हुन पुगेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीका अनुसार कम्पनीले यसअघि नै २५ प्रतिशत प्रोभिजन गरिसकेको र यस वर्ष सावधिकमा ३० प्रतिशत र अन्यमा ४० प्रतिशत प्रोभिजन गर्दा पनि बीमितले पाउने बोनसदर घटाउन नपरेको बताए । कम्पनीले व्यवस्थापन खर्च चुस्त दुरुस्त बनाएको, लगानीबाट प्राप्त आम्दानी बृद्धि गर्न सफल भएकोले पनि बोनसदर नघटेको विश्लेषण गरिएको छ ।

फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नु परेका कारण अधिकांश बीमा कम्पनीहरुको बोनसदर घट्नेछ । सोही कारण केही कम्पनीका बीमा अभिकर्ताहरु कम्पनीप्रति आक्रोसित हुँदै व्यवस्थापन खर्च कटौति गर्न दवाव दिइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*