दुई विदेशी सर्भेयर कम्पनीले अनाधिकृत रुपमा बालुवाटारमा कार्यालय खोलेर काम गर्दै

९ चैत्र २०७८, बुधबार १२:०५

काठमाडौं । दुई विदेशी बीमा सर्भेयर कम्पनीले अनाधिकृत रुपमा काठमाडौंको बालुवाटारमा कार्यालय खोलेर काम गरिरहेको फेला परेको छ ।

अमेरिकी बीमा सर्भेयर कम्पनी विल्सन सर्भेयर एण्ड एडजस्टमेन्ट कम्पनीले बालुवाटारमा कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेको र ग्लाडस्टोन एजेन्सीले अनाधिकृत रुपमा कार्य गरिरहेको फेला परेको हो ।

बीमा समितिबाट अनुमति नलिई दुई विदेशी सर्भेयर कम्पनीले नेपालमा कार्यालय स्थापना गरी काम गरिरहेको बारे बीमा सर्भेयर संघ नेपालले नियामक निकाय बीमा समितिमा लिखितमा उजुरी गरे पनि कारवाही गर्न आनाकानी गरिरहेको संघ सम्बद्ध एक सदस्यले बीमापोष्टलाई जानकारी दिए ।

बालुवाटारमा कार्यालय सञ्चालन गर्दै आएको विल्सन सर्भेयर एण्ड एडजस्टर्सका म्यानेजर जोली टार्गेनसँग सम्पर्क गर्दा हाल उनी भारतमा रहेको पत्ता लागेको छ । संघले बीमा समितिमा उजुरी गरेपछि उनी भागेको अनुमान गरिएको छ ।

उता टेकुमा कार्यालय रहेको ग्लाडस्टोन एजेन्सीजका म्यानेजर एसके सिंह समेत भारतमै पुगेका छन् । दुवै जनाले अबैध रुपमा सञ्चालन गरेको कार्यालय अझै सञ्चालनमा रहेको खुलेको छ । टेकुस्थित कार्यालय रहेको ग्लाड स्टोनले नेपालमा आफ्ना प्रतिनिधि राखेर काम गरिरहेको पाइएको छ ।

बीमा सर्भेयर संघले बीमा ऐन २०४९ ले व्यवस्था गरे अनुसार कुनै पनि स्वदेशी तथा विदेशी सर्भेयरले बीमा समितिबाट लाईसेन्स नलिई तथा अनुमति नलिई कार्यालय खोलेर काम गर्न नपाउने व्यवस्था रहेकोले ऐन विपरितका कार्य रोक्न माग गर्दै बीमा समितिमा लिखित उजरी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*