सर्भेयरको आचार संहिता विपरित जगन्नाथ गौतम कम्पनीको तर्फबाट उच्च अदालतको इजलासमा

१६ चैत्र २०७८, बुधबार ०६:४८

काठमाडौं । बीमा सर्भेयरको मूल सिद्धान्त नै स्वतन्त्र र निष्पक्षता हो । बीमाको सिद्धान्त र कानुनमा सर्भेयर पूर्णतः निष्पक्ष रही बीमित वा बीमक कसैको पक्षमा उभिन, मन्तव्य दिन नपाउने व्यवस्था छ । तर, पहुँचवालाले जे गरे पनि कानुन नलाग्ने नेपालमा बीमा सर्भेयर जगन्नाथ गौतम सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट उच्च अदालत पाटनको इजलासमा उपस्थित भएपछि न्यायाधिशले बाहिर निस्कन आदेश दिएको खुलेको छ ।

घट्ना २०७८ फागुन ८ गते उच्च अदालत पाटनको इजलासमा भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा समितिले गरेको अग्नि बीमा दावी सम्बन्धी फैसलाका विरुद्धमा उच्च अदालत पाटनमा दायर गरेको रिटमाथि अन्तिम सुनुवाई भइरहेका बेला बीमा समितिबाट अनुमति प्राप्त बीमा सर्भेयर जगन्नाथ गौतम सगरमाथा इन्स्योरेन्स कम्पनीको बचाउ गर्दै इजलासमा उपस्थित भएपछि हंगामा मच्चिएको थियो ।

न्यायाधिश बबिता उप्रेती तथा किरण पौडेलको इजलासमा बीमा समितिले २०७७ साल पुस ९ गते गरेको फैसला विरुद्धमा उच्च अदालतमा रिट परेको रिटमाथि अन्तिम सुनुवाई हुँदै थियो । सो सुनुवाईको क्रममा दुवै पक्षका वकिलहरुले बहस गर्न सुरु हुनुपूर्वदेखि नै इजलासमा समक्ष सर्भेयर गौतमलाई समेत सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट उपस्थित गराइएको थियो । बहसको क्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट उपस्थित वकिलले गौतमलाई देखाउँदै ‘उहाँ सर्भेयरको निर्णय भन्दा बढि रकम बीमा समितिले हचुवाको भरमा ठहर गरेको हो, बीमा समितिले ठहरे पनि दिन सक्दैनौं’ भन्दै बचाउमा उत्रिए ।

लगत्तै न्यायाधिशले सोधे, उहाँ को हो ? इजलासमा किन आएको ? भनेर सोधियो । लगत्तै सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सर्भेयर भएको जवाफ दिइयो । अनि फेरि न्यायाधिशले सोधे सर्भेयरको काम के हो ? सर्भेयरको कसैको पक्षमा उभिन पाउँछ कि पाउँदैन ? आचार संहिता हुन्छ कि हुँदैन ? सगरमाथा इन्स्योरेन्स कम्पनीकै तर्फबाट उपस्थित कानुन व्यवसायी बालकृष्ण ढकाल र गोबिन्द कुमार श्रेष्ठ समेतले सर्भेयर गौतमको उपस्थितिको बचाउ गर्न सकेनन् । लगत्तै अर्को पक्षका कानुन व्यवसायीहरु अस्मिन कुमार राई, सुदर्शन थपलिया र कुमार राज कार्कीले इजलासले निश्चित प्रयोजनको लागि पत्र काटेर बोलाएको अवस्थामा बाहेक बीमा सर्भेयर बीमित वा बीमा कम्पनी जुनसुकैको पक्षबाट इजलासमा उपस्थित हुनु निष्पक्षताको सिद्धान्त विपरित हुने जिकिर गरेपछि इजलाशले सर्भेयर गौतमलाई इजलासबाट बाहिर निस्कन आदेश दिनु परेको थियो ।

बीमापोष्टले टेलिफोनमा इजलासमा उपस्थित भएको बारे जिज्ञाशा राख्दा सर्भेयर गौतमले इजलासमा कुरा सुन्न मात्रै उपस्थित भएको प्रतिक्रिया दिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नियम अनुसार पनि कुनै पनि सर्भेयर बोलाएको अवस्था बाहेक बीमा कम्पनी वा बीमितको तर्फबाट इजलासमा उपस्थित हुन नपाउने व्यवस्था रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*