छैटौं बार्षिक उत्सवका अवसरमा स्वास्थ्य बीमा बोर्डद्धारा एप उद्घाटन, अनलाइनबाटै नविकरण सुरूवात

२५ चैत्र २०७८, शुक्रबार ११:२१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिक उत्सवको अवसरमा एचआइबी (हेल्थ इन्स्योरेन्स बोर्ड) नामक नयाँ एपको औपचारिक रुपमा उद्घाटन गरेको छ । भोलिबाट प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने सो एपबाट बीमितले सजिलै आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन् । आजै कनेक्ट आईपिएसमार्फत अनलाईनबाटै स्वास्थ्य बीमा पोलिसी नविकरण गर्ने सुविधा सुरूवात गरिएको छ ।

मोबाइल एप र अनलाइन नविकरणको स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुङले उद्घाटन गरेका हुन् । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री खापुङले कनेक्ट आईपिएसमार्फत अनलाइनबाट नविकरण गरेर औपचारिक रूपमा सुरूवात गरेका छन् । मन्त्री खापुङले स्वास्थ्य बीमा सेवा अब भनै सरल, सहज भएको बताए ।


कार्यक्रममा स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको खुशी व्यक्त गरे । उनले स्वास्थ्य बीमाका समस्याहरू हल गरेर अघि बढ्ने प्रतिबद्दता व्यक्त गरेका छन् । मन्त्री खापुङले स्वास्थ्य बीमाको दायरामा अझै फराकिलो पार्नुपर्ने बताए ।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मेडिकल एशोसिएशनका अध्यक्ष भगवान कोइरालाले स्वास्थ्ये बीमा प्रत्येक नागरिकका लागि अनिवार्य गरिएको बताउदै अप्ठेराहरू चिरेर अघि बढ्नुपर्नु बताए । डा. कोइरालाले स्वास्थ्य बीमा दावी भुक्तानीको लागि नक्कली दावी पर्ने गरेको र सर्वसाधारणले समेत मेरो यति रकम बाँकी छ, पुरै स्वास्थ्य परिक्षण गर्छु भन्ने जस्ता गलत संस्कार विकास भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले स्वास्थ्य बीमा बोर्डले टाईफाईडको उपचार शुल्क बापत आठ हजार भुक्तानी गर्ने निर्णय अव्यवहारिक भएको गुनासो गरेका छन् । साथै बोर्डको कार्यालय बन्द भएको समयमा दशैंमा गरिएको उपचार बापतको दावी भुक्तानी नदिएर व्यवहारिक नबनेको गुनासो गरे । उनले अस्पतालहरुमा स्वास्थ्य बीमा दावीको लागि ठूलो लाइन लाग्ने गरेकोले औपचारिक प्रक्रिया पूरा गर्ने कार्यलाई झन्झटिलो नमान्न आग्रह गरेका छन् । डा. कोइरालाले सिंगो देशको ध्यान स्वास्थ्य बीमा बोर्डमा रहेको बताउँदै बोर्डले राजनीतिक नेतृत्व, मन्त्रालय र जनताले गरेको अपेक्षाहरु पूरा गर्न निकै मेहनत गर्नुपर्ने बताए ।


कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष सेनेन्द्र राज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको कर्मचारी स्थायी दरबन्दी स्वीकृतमा ढिलाई भईरहेको गुनासो स्वास्थ्य मन्त्रालय समक्ष गरेका छन् । उनले नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य उपचार सुविधा बोर्डले दिइरहेको बताउँदै यसका बारेमा विभिन्न कोणबाट भइरहेको षडयन्त्रहरुका विरुद्धमा एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका विज्ञ सदस्य सुरेश तिवारीले कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा बोर्ड आज देशको सबैभन्दा ठूलो सेवा प्रदायक संस्थाको रुपमा विकास भइरहेको बताउँदै यसलाई सफल पार्न सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा बोर्डका अध्यक्ष उप्रेतीले दावी भुक्तानी समयमा भइरहेको बताए । अध्यक्ष उप्रेतीले स्वास्थ बीमा असफल हुँदा सरकारको सामाजिक सुरक्षा योजना असफल हुने बताए । अध्यक्ष उप्रेतिले सरकारले तिर्ने प्रतिबद्दता गरेको प्रिमियम भुक्तानी समयमा गर्न माग गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशक दामाेदर बसाैलाले आठ वटा स्थानीय निकाय बाहेक देशैभरि स्वास्थ्य बीमा सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेकाे बताउँदै छैटाै बार्षिक उत्सवकाे अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । कार्यकारी निर्देशक बसौलाले अहिलेसम्म बोर्ड देशैभरि सेवा विस्तारमा जुटेको र आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*