नेपाल लाइफको बीमा कोष एक खर्ब ३१ अर्ब, मुनाफा बाहेको सबै सूचांकमा प्रगति

३० बैशाख २०७९, शुक्रबार ०७:१८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेपाल लाईफको जीवन बीमा कोष २१.८८ प्रतिशतले बृद्धि भएको छ । चैत्र मसान्तसम्ममा नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब ३१ अर्ब १६ करोड २७ लाख २१ हजार ६१८ रुपैयाँ संचिती गर्न सफल भएको छ । नेपाली बीमा क्षेत्रको इतिहासमा सबैभन्दा ठूलो कोष बनाउने कम्पनी नेपाल लाइफ हुन पुगेको छ । गत आवको यसै अवधीमा एक खर्ब ७ अर्ब ६१ करोडको जीवन बीमा कोष खडा गरेको कम्पनीमा एक वर्षको अवधीमा २३ अर्ब ५४ करोड ४९ लाख ९७ हजार ५०५ रुपैयाँ जीवन बीमा कोषमा योगदान गर्न सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुका लागि बीमा कोष नै सबैभन्दा महत्वपूर्ण हुनजान्छ । बीमा समितिले यसैवर्र्षदेखि लागू गरेको फ्युचर बोनसस प्रोभिजनले मुनाफामा उच्च गिरावट देखिए पनि कम्पनी जीवन बीमा कोषमा बलियो योगदान दिएकोले समीक्षा अवधीमा कम्पनी थप बलियो बन्न पुगेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको जगेडा कोष ६० प्रतिशतले घटेको छ । गत आवको यसै अवधीमा एक अर्ब १२ करोड भन्दा बढि संचिती रहेको जगेडा कोष यस आवको चैत्र महिनासम्ममा आईपुग्दा ४४ करोड ४९ लाखमा सीमित हुन पुगेको छ । कम्पनीको जगेडा कोष केही समयदेखि लगातार घटिरहेको छ । कम्पनीकको समग्र कोषको आकार एक खर्र्ब ३२ अर्ब ३२ करोड रुपैयाँ संचिती छ ।

चालु आवको नौ महिनाको अवधीमा नेपाल लाइफले २५ अर्ब ९७ करोड ९९ लाख दुई हजार २९० रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवको यसै अवधीमा २४ अर्ब ९५ करोड रुपैयाँ संचिती गरेको कम्पनीले चालुु आवमा चार प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
कम्पनीको दावी भुक्तानी ४५.३७ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा सात अर्ब २९ करोड रुपैयाँ दावी भुक्तानी दिएकोमा चालु आवको नौ महिनाको अवधीमा १० अर्ब ६० करोड ८६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको कर्जा, लगानी, बीमालेख धितोमा कर्जा आदिबाट प्राप्त आम्दानी १७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा सात अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यस आवको समीक्षा अवधीमा नौ अर्ब १० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च १६.९५ प्रतिशतले बढेको छ । गत आवमा ९५ करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको नौ महिनामा एक अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिने कमिशन ७ प्रतिशतले घटेको छ । गत आवमा दुई अर्ब ८४ करोड रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई वितरण गरेको कम्पनीले यस आवमा दुई अर्ब ६३ करोड रुपैयाँ मात्रै आफ्ना अभिकर्ताहरुलाई वितरण गरेको छ । नेपाल लाइफ सबैभन्दा धेरै बीमा अभिकर्ता भएको कम्पनी हो । उक्त कम्पनीसँग एक लाख भन्दा बढि सक्रिय अभिकर्ताको सञ्जाल रहेको छ ।

कम्पनीको खुद नाफामा भने उच्च अंकको १३८.४० प्रतिशतले गिरावट आएको छ । गत आवको यसै अवधीमा ५० करोड मुनाफा गरेको कम्पनीले यस आवको नौ महिनाको अवधीमा १९ करोड ४५ लाख ६१ हजार ७१० रुपैयाँ घाटामा गएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीमा हालसम्म कायम बीमालेखको संख्या १३ लाख ९९ हजार ९०८ वटा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी –३.४१ रुपैयाँ प्रतिशेयर नेटवर्थ ११४.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात –२७९.६८ गुणा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १७७४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*