१९ कम्पनीको जीवन बीमा कोषमा साढे चार खर्ब, कुन कम्पनीको खातामा कति ?

३१ बैशाख २०७९, शनिबार १८:२१

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको कूल चार खर्ब ४९ अर्ब २० करोड ५१ लाख ४३ हजार ५८ रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासिक अवस्थासम्मको अवधीमा सो रकम उनीहरुले जीवन बीमा कोषमा जम्मा गरेका हुन् ।

जीवन बीमा कोष जीवन बीमा कम्पनीहरुको मेरुदण्ड हो । साथै जीवन बीमा कोषमा ठूलो रकम संचिती हुने हुँदा देशकै अर्थतन्त्रका लागि समेत निकै महत्वपूर्ण छ । नेपालको कूल बजेट मध्ये करिब नौ खर्व रुपैयाँ राजश्व परिचालनबाट हुन्छ । नेपाली जीवन बीमा कम्पनीहरुसँग देशको कूल राजश्वको आधा रकम त कोषमै जम्मा गर्न सक्षम भएका छन् ।

वित्तीय विवरण अनुसार नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ । नेपाल लाइफ नेपालको एक मात्र खर्ब भन्दा माथि जीवन बीमा कोष खडा गर्ने शक्तिशाली कम्पनी हो । सो कम्पनीले एक खर्ब ३१ अर्ब १६ करोड २७ लाख २१ हजार ६१८ रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको छ ।
त्यस्तै, दोस्रो नम्वरमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीको जीवन बीमा कोषमा ९० अर्ब ३० करोड ४१ लाख रुपैयाँ संचिती रहेको छ । तेस्रो नम्वरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ४९ अर्ब चार करोड ५७ लाख ५७ हजार ३५७ रुपैयाँ संचिती रहेको छ ।

 

नेपाल सरकारको पूर्ण स्वमित्व रहेको राष्ट्रिय बीमा संस्थान जीवन बीमा कोषका आधारमा चौथो नम्वरमा छ । संस्थानको जीवन बीमा कोषमा ३९ अर्ब ५८ करोड २७ लाख ४५ हजार ४१० रुपैयाँ रहेको छ । त्यस्तै पाँचौं नम्वरमा पर्न सफल अर्को कम्पनी एशिनल लाइफ रहेको छ । सो कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड ७६ लाख ४२ हजार ६१ रुपैयाँ संचिती रहेको छ ।

छैटौं र सातौं नम्वरमा क्रमशः मेट लाइफ र प्राईम लाइफ रहेका छन् । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफको जीवन बीमा कोषमा २० अर्ब २४ करोड रुपैयाँ संचिती रहेको छ भने प्राइम लाइफको खातामा १७ अर्ब ६३ करोड रुपैयाँ संचिती रहेको छ ।

जीवन बीमा कोषका आधारमा आठौं, नवौं र दशौं नम्वरमा क्रमशः सूर्या लाइफ, गुराँस लाइफ रु युनियन लाइफ रहेको छ । सूर्या लाइफको १३ अर्ब ३५ करोड, गुराँस लाइफको १२ अर्ब छ करोड तथा युनियन लाइफको जीवन बीमा कोषमा १० अर्ब ३४ करोड रुपैयाँ संचिती रहेकोे छ ।

दश अर्बभन्दा कम जीवन बीमा कोष बनाउने कम्पनीहरुमा ज्योति लाइफ पाँच अर्ब ६६ करोड, सिटिजन लाइफ पाँच अर्ब ५३ करोड, आईएमई लाइफ चार र्अ २४ करोड, रिलायबल नेपाल लाइफ चार अर्ब १८ करोड, रिलायन्स लाइफ तीन अर्ब ६७ करोड, सन नेपाल लाइफको तीन अर्ब ३५ करोड, सानिमा लाइफको तीन अर्ब १३ करोड, प्रभु लाइफको दुई अर्ब ७१ करोड तथा महालक्ष्मी लाइफको एक अर्ब ९८ करोड रुपैयाँको जीवन बीमा कोष रहेको छ ।

पुराना कम्पनीहरुको जीवन बीमा कोषको आकार धेरै ठूलो भएपनि नयाँ कम्पनीहरुको जीवन बीमा कोषको आकार फैलन समय लाग्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*