बीमा क्षेत्रमा विश्वास गुम्दै गएकोमा अध्यक्ष सिलवाल चिन्तित, बीमा कम्पनीमा मानवता देख्न सकिएन

६ असार २०७९, सोमबार १६:१६

काठमाडौं । बीमा क्षेत्रमा केही कम्पनीहरुका कारण सिंगो क्षेत्र नै बद्नाम हुँदै गएकोमा नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले चिन्ता व्यक्त गरेका छन् । साथै अध्यक्ष सिलवालले बीमा कम्पनीहरु दावी भुक्तानीमा अमानवीयता प्रकट गर्ने गरेको समेत गुनासो गरेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि सार्वजनिक गरेको नयाँ प्रडक्ट सार्वजनिक गर्न उपस्थित भएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा जनताको विश्वास गुम्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष सिलवालले भने ‘बीमाले आफ्नो विश्वसनीयता गुमाउँदै गएको छ, आज तपाईहरु जहाँ जानुस्, क्लेम पाइदैन भनेर भन्ने गुनासो आइरहेको छ ।’ अध्यक्ष सिलवालले दावी भुक्तानीमा बीमा कम्पनीहरुले गरेको ढिलासुस्ती, बाहानाबाजीहरुले सिंगो बीमा क्षेत्र धरासायी हुने बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरुलाई दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले विश्वासको आधारमा चल्ने बीमा क्षेत्रमा दावी भुक्तानीमा समस्या खडा गरेकोले सिंगो क्षेत्र बद्नाम बन्दै गइरहेकोमा चिन्ता र चासो व्यक्त गरेका हुन् । अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरुलाई संकेत गर्दै भने, ‘तपाईहरुमा हामीले मानवता देखेनौं ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई जिम्मेवार बनाउन दावी भुक्तानी वर्षको रुपमा अभियान चलाइरहेको बताउँदै बीमा कम्पनीहरुलाई दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउन सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । ‘बीमा कम्पनीहरुको आन्तरिक गभर्नेन्स हामीले हेरिदिने होइन, तर कहाँबाट चिप्लिरहेको छ ?’ अध्यक्ष सिलवालले भने, हाम्रो विश्वसनीयता जिरोमा झरेको छ, यसलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*