महालक्ष्मी लाइफलाई संस्थापक शेयरधनीबाट शेयर वापतको रकम उठाउन हम्य, एक हप्ताको म्याद थप

१० असार २०७९, शुक्रबार ११:४४

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । यसअघि कम्पनीले शेयरधनीहरुलाई रकम जम्मा गर्न दुईपटक सूचना प्रकाशित गरेको थियो ।

पटक–पटक सूचना प्रकाशित गरी आफ्नो शेयर वापतको ५०% रकम जम्मा गर्न महालक्ष्मी लाइफले शेयरधनीहरुलाई अनुरोध गरेपनि शेयरधनीहरुले हालसम्म पनि रकम जम्मा नगरेको देखिएको हो । सो कारण कम्पनीले तेस्रोपटक सूचना प्रकाशित गर्दै अबको सात दिनभित्र अर्थात् असार १६ गतेसम्म रकम जम्मा गर्न आग्रह गरेको छ ।

महालक्ष्मी लाइफको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार अधिकृत, चुक्तापुँजी तथा जारीपुँजी बृद्धि भएबमोजिम जेठ १० गते बसेको संचालक समितिको बैठकले साविक संस्थापक शेयरधनीहरुबाट शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

सो पश्चात् कम्पनीले पहिलो चरणमा जेठ ११ गते असार ९ गतेभित्र रकम जम्मा गर्नुपर्ने भन्दै शेयरधनीहरुसमक्ष सूचना प्रकाशित गरेको थियो । रकम जम्मा गर्नुपर्ने समयावधि सकिन लाग्दा पनि संस्थापक शेयरधनीहरुबाट रकम जम्मा हुन नसक्दा कम्पनीले पुनः असार ६ गते ४ दिनभित्र रकम जम्मा गर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको थियो ।

शेयर वापतको रकम जम्मा गर्नुपर्ने अवधिभित्र पनि शेयरधनीहरुबाट रकम जम्मा हुन नसक्दा आज कम्पनीले पुनः ७ दिन म्याद थप्दै नोटिस निकालेको छ । कम्पनीका अनुसार संस्थापक शेयरधनीहरुले अबको ७ दिनभित्र अर्थात असार १६ गतेसम्म रकम जम्मा गरिनुपर्नेछ । सो अवधिभित्र पनि रकम जम्मा नभएमा कम्पनी ऐन, २०६३ को दफा ५६ (११) बमोजिम प्राप्त नभएको रकम बराबरको शेयर संचालक समितिले उचित ठहर्याएको अन्य विधिबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।

नियमक निकाय बीमा समितिले आगामी चैत मसान्तसम्म सबै बीमा कम्पनीहरुले चुक्तापुँजी बृद्धि गर्नुपर्ने निर्देशन दिएको थियो । सोही बमोजिम कम्पनीले हकप्रद र मर्जरको बाटो नरोजी आफ्नै संस्थापक शेयरधनीहरुबाट शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*