हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा गराउँदा दावी भुक्तानी नै नपाउने जोखिम

१६ असार २०७९, बिहीबार १०:२७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी पाउनै नसक्ने जोखिम बढेर गएको छ । पर्याप्त बीमा व्यवसाय नहुँदा कम्पनीले आवश्यक मात्रामा रेट्रो नगराएको कारण ठूलै महामारी आइपरेको खण्डमा कम्पनी टाट उल्टिन गई दावी भुक्तानी नै नपाउने जोखिम बढेको हो ।

बीमा समितिले सबै पुनर्बीमा नेपालमा गर्नुपर्ने भन्ने बीमाको सिद्धान्त विपरितको नियम लगाएर अनिवार्य रुपमा हिमालयन रिलाई व्यवसाय दिनुपर्ने व्यवस्थाका कारण नेपाली बीमा कम्पनीहरुले जोखिम विविधिकरणको लागि समेत वैकिल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको छ । चुक्ता पुँजि थोरै भएको र कोष समेत तयार नभइसकेको अवस्थामा हिमालयन रिमा पुनर्बीमा जोखिमपूर्ण रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफ्नो क्षमता भन्दा दशौंगुणा बढि जोखिम धारण गरेको कारण समेत भूकम्प वा ठूला महामारी आएको अवस्थामा कम्पनी नै टाट पल्टिएर कोरोना बीमा झै बीमा दावी भुक्तानी नै नपाउने जोखिम बढेको छ ।

एक बीमा कम्पनीका सिइओले बीमापोष्टसँग भने, ‘जोखिम धारण गर्ने कम्पनी आफै जोखिममा छ, अख्तियार लगायतका उजुरी परेकोले कानुनी जोखिम समेत उत्तिकै छ, बीमा समिति त्यही बीमा गर्नुपर्छ भन्छ, चारैतिरबाट जोखिम देखिन्छ कसरी पुनर्बीमा गर्नु ?’

सेटिङमा दर्ता गरी सेटिङमा अर्बौको व्यवसाय भित्राउने निर्णय गराएको कारण हिमालयन रि इन्स्योरेन्स कम्पनीको कानुनी जटिलता समेत उस्तै छ । कम्पनीको दर्ता नै अबैध भन्दै उजुरी परेकोले समेत छानविन भएको खण्डमा अवस्था गम्भिर हुनसक्नेछ । त्यसैले पनि बीमा कम्पनीहरुले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई खासै प्राथमिकतामा राखेका छैनन् ।

नेपाली बीमा कम्पनीहरुले विश्वासै गर्न नसकेपछि हिमालय रि इन्स्योरेन्स कम्पनीले धेरै व्यवसाय ल्याउन नसक्ने निश्चित छ । न्यूनतम व्यवसाय समेत ल्याउन नसक्ने अवस्थामा हिमालयन रिको अपरेटिङ खर्च समेत कठिन हुने र यसले दावी भुक्तानी दिन झनै कठिन हुनसक्ने जोखिम बढेको छ । सञ्चालनको वर्षदिनमा कम्पनीले एक अर्ब पनि व्यवसाय गर्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*