बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य

रिना खत्री
१३ श्रावण २०७९, शुक्रबार १३:१०

काठमाडौं ।विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधी नियत मौलाएको उनले बताए ।बीमा समितिले यसै बिषयमा कडाई गर्नैपर्ने बेला आएको उनले भने ।

नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गरेको थियो । अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनको लागि योजना नै बुनेको पाइएको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको दाबी भुक्तानीको लागि पुनर्बिमा कम्पनीलाई फाइल पठाएकोमा पुनर्बिमाले शंकास्पद लागेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई अनुसन्धानको लागि आग्रह गरेको थियो।सीआईबिले यस समबन्धमा अनुसन्धान गरेर बीमा दाबी भुक्तानीको नाममा घोटाला गरेर ठगि गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । प्रहरीले आज ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो ।प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ ।

वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।

बीमा भएदेखि दाबी भुक्तानीसम्मको घटनाक्रम

मृतकको खाता खोलेको २०७७ फागुन ५ गते कामना सेवा विकास बैंकमा खाता खोलिदिएको थियो । सपना मल्लको खाता खोलेको २०७७ फागुन १२ गते कामना सेवा विकास बैंक (दुबै जनाको खाता संजिबले खोलिदीएको) अनुसन्धानमा देखिएको छ ।

जीवन बीमा : २०७७ फागुन २८ गते (इच्छाइएको व्यक्तिमा सपना मल्ल) प्रथम बीमा शुल्क तिरेको मितिः २०७७ फागुन २८ गते भुक्तानी गरेको छ । बीमितको विवाह दर्ता मितिः २०७७ चैत २ गते दुर्घटना मिति :२०७८ बैशाख २ गते भएको देखिएको छ ।

त्यस्तै, रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत सहभागी रहेको थियो ।कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।दाबी भुक्तानी मितिः २०७८ साउन १४ गते थियो ।

सुरुमा आरति भन्ने ललिता भन्ने कुमारी सापकोटाले सपना मल्ल र मृतक बिकलाई भेट गराइदिएकी थिइन् । उनले बिहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भन्दै मल्ललाई कन्भिन्स गरेकी थिइन् । सोहि अनुसार डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने तयारी उनीहरुको थियो । अष्ट्रेलिया जान नक्कली विवाह गरेपछि मात्र मृतक विक र मल्लको भेट भएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लागेको जनाएको छ ।

विवाह दर्ता गर्ने, बीमा गर्ने, बैंक खाता खोल्ने लगायतका सम्पूर्ण काम संजिव अर्यालले गरेको खुलेको छ । उनी नै घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । उनले ८० लाख पाइसकेको प्रहरीलेजनाएको छ । अर्यालले नै बीमाको प्रथम शुल्क ५ लाख ४० हजार भुक्तानी गरेका थिए ।

यसरी खुल्यो हत्याको रहस्य

२ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स बीमाबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्या योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ ।

बीमा ठगी गर्न विवाह नै नक्कली

गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड गर्न नक्कली विवाह गरेको पाइएको छ । सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो ।

त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । २ करोड ५० लाख रुपैयाँको बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।उक्त मृत्युपछि  कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स इन्सुरेन्स कम्पनीले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो ।

दुर्घटनाभन्दा अगाडि र पछि पनि चालक टोप बहादुर रानासँग मुख्य योजनाकार सञ्जीव अर्यालको पटकपटक कुराकानी भएको, सपना र सञ्जीवबीच पटकपटक कुराकानी र रकम बाँडफाँड भएको देखिएको, योजनामा सघाउने सबैले रकम लिएको र घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ ।

सपना मृत्यु संस्कारमा अनुपस्थित

मृतक र सपना मल्लको बीचमा विवाह दर्ता भएको छ । प्रहरीका अनुसार विवाह दर्ता गरे पनि उनीहरू नियमित सम्पर्कमा थिएनन् । २०७७ चैत २ मा उनीहरूले विवाह दर्ता गरेका हुन् । डिपेन्डेन्ट भिसामा ‘अस्ट्रेलिया पठाउँछु’ भनेर सञ्जीव आर्यालले उनीहरूलाई विवाह दर्ता गराएको अनुसन्धानबाट थाहा भएको छ । विवाह दर्ता गरेपछि सपना काठमाडौँ आइन् ।

२०७७ फागुन २८ मा बीमा गर्दा इच्छाएको व्यक्तिमा सपना मल्लको नाम भरिएको थियो । बीमा गरेको ४ दिनपछि उनीहरूको विवाह दर्ता गरिएको थियो । तर, उनीहरू दुवैले एक–अर्कालाई चिन्थेनन् । २०७८ वैशाख २ मा दुर्घटनामा परेर सर्जनको मृत्यु भएपछि मृत्यु संस्कारमा २१ वर्षीय सपना सहभागी भइनन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सर्जनको मृत्यु भएको कुरा सपनालाई सञ्जीव अर्यालले बताएका हुन् । सर्जन विकको मृत्युपछि बीमा रकम भुक्तानीको प्रक्रिया सञ्जीव अर्याल र दीपक केसीले गरे । काठमाडौँमा बीमा रकम भुक्तानी लिन सपनालाई दीपक केसीले लिएर आएको अनुसन्धानबाट थाहा भएको छ ।

कोहलपुरस्थित कामना सेवा विकास बैंकमा मृतक र सपनाको खाता सञ्जीवले नै खोलिदिएका हुन् ।

सञ्जीवले तिरे बीमा शुल्क

कम्पनी, कोहलपुर शाखामा सर्जन विकको बीमा गरियो । बीमाको प्रथम शुल्क ५ लाख ४० हजार सञ्जीव अर्यालले भुक्तानी गरेको भेटिएको छ । बीमा गराउने एजेन्ट सरदर अहमद खाँ हुन् ।एजेन्टकै मोटरसाइकल दिएर सर्जनलाई योजनाबद्ध दुर्घटनामा पारिएको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । बीमा गराउने एजेन्ट र सञ्जीव पूर्व परिचित हुन् । सञ्जीवसँग सपनालाई ललिता कुमारी सापकोटा उर्फ आरतीले भेट गराएकी हुन् । भेटमा सपनालाई ‘डिपेन्डेन्ट भिषा’मा अस्ट्रेलिया पठाउने विषयमा कुरा भएको ललिताले प्रहरीलाई बताएकी छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ललिताचाहिँ सञ्जीवको केटी साथी हुन् ।

दुर्घटनामा अभिकर्ताको समेत मिलोमतो

श्रीमान्–श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव र सपनाबीच भने पटक–पटक भेट भएको पाइन्छ । यस घटनामा बीमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो । सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ ।

त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ ।

त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ । वारदातको समय(राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको छ ।

त्यस्तै दीपक केसीले सपनालाई बीमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ८० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ । ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बिमा अभिकर्ता खाँ पनि घटनामा संलग्न भएको देखिएको सीआईबीले जनाएको छ ।

प्रहरीले घटनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

One thought on “बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*