सिद्धार्थ इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी दुई अर्ब ६१ करोड, खुद नाफा ३२ करोड हुँदा अन्य सूचांक कस्तो ?

२२ श्रावण २०७९, आईतवार ०७:२१

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनले गत आवको चौथो त्रैमासिक (बार्षिक) वित्तिय विवरण आज प्रकाशित गरेको छ । बढ्दो आर्थिक संकटका बीचमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रगति सामान्य देखिएको छ ।

अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ८.३२ प्रतिशतले घटेर ३२ करोड १० लाख ७१ हजारमा सीमित हुन पुगेको छ । समीक्षा अवधीको अघिल्लो आवमा कम्पनीले ३५ करोड एक लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले गत असार मसान्तसम्ममा दुई अर्ब ६१ करोड ७६ लाख ४२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । सो रकम गत आवको तुलतामा १.६१ प्रतिशतले घटी हो । गत आवमा कम्पनीले दुई अर्ब ६५ करोड ९५ लाखभन्दा बढि कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

समीक्षा अवधीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय ८.६७ प्रतिशतले घटेर २५ करोड ७२ हजार ९७ हजारमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी २८ करोड १७ लाख २५ हजार रुपैयाँ थियो । कम्पनीको व्यवस्थापन खर्च १२.७८ प्रतिशतले बढेर ४० करोड ५९ लाख सात हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा ३५ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी २० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले खुद बीमा शुल्कलाई कूल बीमा शुल्कको अनुपातमा बढाएपछि खुद दावी भुक्तानीमा बृद्धि भएको हो । समीक्षा अवधीको अघिल्लो आवमा ५७ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले गत आवको असार मसान्तसम्ममा ६९ करोड २४ लाख ३६ हजार रुपैयाँ खुुद दावी भुक्तानी गरेको छ ।

कम्पनीको जगेडा कोष ९.३७ प्रतिशतले घटेर ३४ करोड ४९ लाखबाट ३१ करोड २६ लाखमा झरेको छ । कम्पनीको बीमा कोषमा एक अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ संचिती गरेको छ । कम्पनीको महाविपत्ति कोषसहित तीन वटै कोषको आकार १० प्रतिशतले बृद्धि गरी एक अर्ब ४२ करोडबाट एक अर्ब ५७ करोड पुर्याउन सफल भएको छ ।

ससमीषा अवधीमा कम्पनीले जारी गरेको बीमा पोलिसी संख्या एक लाख ७९ हजार ९३ रहेको छ । त्यस्तै कम्पनीले तिर्न बाँकी दावी भुक्तानी एक अर्ब ३७ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २४.९३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२२.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१।८१ छ । त्यस्तै कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४०९.६६ रुपैयाँ रहेको छ ।

समीक्षा अवधीमा कम्पनीले पुनर्बीमा कमिशन बापत ४१ करोड ७९ लाख २३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३६ करोड १४ लाख ४१ हजार रुपैयाँ थियो । त्यस्तै कम्पनीले यस अवधीमा एक अर्ब ३७ करोड १२ लाख ८९ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । कूल दावी भुक्तानी पुनर्बीमा कम्पनीबाट लिएर र आफूले व्यहोरेको समेत रकम हो । अघिल्लो आवमा यस्तो दावी भुक्तानी एक अर्ब १२ करोड रुपैयाँ थियो ।

कम्पनीले कर्मचारीहरुलाई कमिशन बापत पाँच करोड ३९ लाख २३ हजार रुपैयाँ वितरण गरेको छ । गत आवको तुलनामा बोनस केही घटाएको छ । सिद्धार्थ इन्स्योरेन्सले प्रिमियर इन्स्योरेन्स कम्पनीसँग १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*